नेपालगन्ज : कर्णाली विकास बैँकमा भएको रकम घोटालामा संलग्न अभियुक्त विरुद्ध मुद्दा दर्ता गरिएको छ । नेपालगन्जमा प्रधान कार्यालय रहेको उक्त बैँकमा तीन अर्ब २० करोड भन्दा बढी घोटाला भएको निष्कर्षसहित उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा बुधबार मुद्दा दर्ता गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को लामो अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा मुद्दा दायर गरेको सूचना अधिकारी बलबहादुर विष्टले जानकारी दिए । उनका अनुसार बैँकमा घोटाला गरेको आरोपमा बैँकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरी, राष्ट्र बैँकका पूर्व कर्मचारी भुवन बस्नेतसहित १ सय ९ जना विरुद्ध मुद्दा दायर गरिएको छ ।
प्रहरीका अनुसार राय, मिश्र, ठकुरी र बस्नेत पक्राउ परेपनि अन्य १ सय ५ जना आरोपी फरार रहेका छन् । प्रतिवादी विरुद्ध तीन अर्ब २० करोड ११ लाख ५४ हजार १५७ रुपैयाँ बिगो कायम गरेर मुद्दा दर्ता गरिएको सूचना अधिकारी विष्टले बताए ।
बैँकका संस्थापक अध्यक्ष रायको नाममा मात्रै दुई अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७ रुपैयाँ, संस्थापक सदस्य एवम् पूर्वअध्यक्ष मिश्रको नाममा ८२ करोड ४६ लाख २९ हजार, बैँकका वित्त शाखा प्रमुख वेदप्रकाश सिंह ठकुरीको नाममा २४ करोड ६३ लाख ९९ हजार र नेपाल राष्ट्र बैँकका पूर्वकर्मचारी बस्नेतको नाममा १० लाख ८९ हजार २ सय ५० रुपैयाँ बिगो कायम गरिएको छ । पक्राउ परेका अभियुक्तको बयान लिने काम बिहीबार (भोलि)बाट सुरु हुने अदालतले जनाएको छ ।
पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर सिआइबीले अनुसन्धान गरेको थियो । राष्ट्र बैँकले कर्णालीलाई २०८१ साल पुस १० गते समस्याग्रस्त घोषणा गरेको थियो । त्यसपछि अर्को व्यवस्था नभएसम्मका लागि बैँकको व्यवस्थापनको सम्पूर्ण जिम्मा राष्ट्र बैँकले लिएको छ ।
राष्ट्र बैंकको ‘बैँक तथा वित्तीय संस्था नियमन विभाग’ का उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा कर्णाली विकास बैँक सञ्चालनका लागि तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको थियो । उक्त समूहले २०८१ पुस ११ गतेदेखि कर्णाली विकास बैंकको सम्पूर्ण जिम्मवारी सम्हाल्दै आएको छ ।