नेपालगन्ज : कर्णाली विकास बैंक घोटाला प्रकरणमा उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले बैंकका संस्थापक अध्यक्षसहित तीन जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका सूचना अधिकारी बलबहादुर बिष्टले धरौटी बुझाउन नसकेकाले तत्काल कारागार चलान गरिएको जानकारी दिए ।
उनका अनुसार बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपति दयाल मिश्र, बैंकका वित्त विभाग प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उक्त आदेशमा फरार रहेका १ सय भन्दा बढी प्रतिवादीको हकमा म्याद तामेली पठाउने उल्लेख छ । मिश्र नेकपा एमालेका केन्द्रिय सदस्य हुन् । उनी विगतमा राप्रपा, तमालोपा हुदै एमालेमा प्रवेश भएका थिए । यस्तै राई विभिन्न समयमा पार्टी परिवर्तन गर्दै चुनाव लड्ने गरेका थिए ।
बैंक सञ्चालक समितिका दुई पूर्वअध्यक्ष र एक कर्मचारीलाई अहिल्यै छाड्दा मुद्दा प्रभावित पार्न सक्ने आँकलन गरी अदालतले तीन जनालाई थुनामा राख्ने आदेश गरेको स्रोतले जनाएको छ । अदालतका न्यायाधीशद्वय चन्द्रबहादुर सारू र पुनमसिंह चन्दको इजलासले बैंकका पूर्वअध्यक्षसहित चार जना प्रतिवादी विरूद्धको रकम घोटाला प्रकरणको सुनुवाइ सकेर बुधबार सो आदेश सुनाएको थियो । अदालतले राष्ट्र बैंकका पूर्व कर्मचारी भुवन बस्नेतलाई भने २ लाख धरौटीमा छाड्न आदेश दिएको छ । बैंकको ३ अर्ब २० करोड रुपैयाँ हिनामिना प्रकरणमा कुल १ सय ९ जनालाई प्रतिवादी बनाइएको थियो । तीमध्ये १ सय ३ जना अभियुक्त अझै फरार रहेका छन् ।
विभिन्न समयमा पक्राउ परेका दुई जना सञ्चालक समितिका पूर्वअध्यक्षसहित चार जना प्रतिवादीमध्ये साउन १४ गते सिआइबीले आफ्नो अनुसन्धान प्रतिवेदनमा आर्थिक अनियमिततामा दोषी करार गर्दै जिल्ला सरकारी वकिल कार्यालयलाई बुझाएको थियो । नेपाल प्रहरीको सिआइबीले बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर रायसहित १ सय ९ जनाबाट तीन अर्ब २० करोड ११ लाख ५४ हजार १ सय ५७ बिगो माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने सुझाव दिएको थियो ।
सिआइबीको सोही अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिल कार्यालयले उच्च अदालत तुलसीपुर नेपालगन्जमा मुद्दा दायर गरेको थियो । अदालतले चार जना प्रतिवादीमध्ये बैंकका संस्थापक अध्यक्षसमेत रहेका राजेन्द्रवीर रायसँग २ अर्ब ६३ करोड ३२ लाख १६ हजार ५ सय ९७ रुपैयाँ बिगो र जरिवाना माग दाबी गरिएको थियो ।
यस्तै पूर्वअध्यक्ष पशुपति दयाल मिश्रसँग ८२ करोड ४६ लाख २९ हजार बिगो र जरिवाना, बैंकका तत्कालीन वित्त विभाग प्रमुख वेदप्रकाशसिंह ठकुरीसँग २४ करोड ६३ लाख ९९ हजार बिगो र जरिवाना, राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतसँग १० करोड ८९ लाख २५० बिगो र जरिवाना मागदाबी गरिएको थियो ।