नेपालगन्ज : भेरी अस्पतालले औषधी, उपचार गरेर अहिलेसम्म पश्चिम नेपालका लाखौं बिरामीको ज्यान बचायो । तर, अब अस्पतालले औषधी उपचारसँगै विशेषज्ञ चिकित्सकलाई अध्यापन गराउन थालेको छ । पश्चिम नेपालको रेफरल अस्पतालका रुपमा रहेको उक्त अस्पतालले उपचारसँगै ‘प्राज्ञिक’ कामलाई पनि अगाडी बढाएको हो ।
अस्पतालमा वर्षौअघि देखी एमडी/एमएस विषयको पढाई सञ्चालन गर्ने प्रयास भएपनि यसले सार्थकता पाएन । संघिय सरकारद्धारा सञ्चालित अस्पतालमा २०८१ सालदेखी आवश्यक प्रक्रिया अगाडी बढाइएपनि गत असारबाट एमडी र एमएस अध्यापन सुरु भएको हो । गत असार दोस्रो सातादेखी अस्पतालले एमडी र एमएसको अध्यापन सञ्चालनमा ल्याईसकेको छ । पहिलो चरणमा ‘मेडिसिन’ र ‘सर्जरी’ विभागको ‘फ्याकेल्टी’ मा अध्यापन गराइएको छ ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) र भेरी अस्पतालबीच यसअघि एमडी/एमएस कार्यक्रम सञ्चालन गर्ने विषयमा औपचारिक सम्झौता भएको थियो । प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भुपेन्द्र बस्नेत र भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदीले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौता पश्चात न्याम्सको सिनेट बैठकले अस्पताललाई एमडी/एमएस अध्यापन गर्ने स्वीकृति दियो ।
भेरी अस्पतालसँगै कोसी अस्पताल, भरतपुर अस्पताल र नारायणी अस्पतालले एमडी/एमएस अध्यापन गराउन छनोटमा परेका थिए । एमडी/एमएस कार्यक्रमका लागि अस्पतालले सुरुमा ५४ वटा फ्याकेल्टीका पद प्रस्ताव गरेको थियो । तर, मापदण्ड अनुसार ११ वटा पद मात्र सिर्जना भयो । जसअनुसार भेरी अस्पतालका ११ जना चिकित्सकले सह–प्राध्यापक र उप–प्राध्यापक पद प्राप्त गरे । सोही फ्याकेल्टीका आधारमा अहिले मेडिसिन विभाग र सर्जरी विभागमा रेसिडेन्ट चिकित्सक (आवासिय)आएर अध्ययन कार्य थालिसकेको अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. निराजन सुवेदी बताउँछन् ।
उनका अनुसार स्त्री तथा प्रसुति(गाईनी) विभागमा एक जना र अर्थोमा दुई जना आवासिय चिकित्सक पनि अध्ययनका लागि भेरीमा आउने प्रक्रियामा छन् । तीन वर्षे कार्यक्रममा आवासिय चिकित्सक चौबिसै घण्टा अस्पताल क्षेत्रमा रहनेछन् । अस्पतालको सर्जरी विभागमा सह–प्राध्यापकद्धय डा. निराजन सुवेदी र डा. दिपेश गुप्ताले अध्यापन गरिरहेका छन् । यस्तै मेडिसिन विभागमा सह–प्राध्यापकद्धय डा. राजन पाण्डे र डा. विकास नेपाल तथा उपप्राध्यापक डा. संकेत रिसालले अध्यापन गरिरहेको मेसु सुवेदीले जानकारी दिए । गाईनी विभागका लागि सह–प्राध्यापक डा. कृतिपाल सुवेदी र अर्थो विभागमा सह–प्राध्यापकद्धय डा. प्रकाशबहादुर थापा र डा. तिर्थेन्द्र खड्का लगायत अध्यापन गर्ने तयारीमा छन् ।
प्राज्ञिक केन्द्र बनेपछि भेरी अस्पताललाई फाइदै फाइदा हुने देखिएको छ । आवासिय चिकित्सक २४ सै घण्टा अस्पतालमा खटिनुपर्ने भएकाले अस्पताललाई प्रायः डाक्टरको अभाव हुदैन । उनीहरुले विशेषज्ञ चिकित्सकको निगरानीमा हरेक ओपिडी, आपतकालिन, आईसियु लगायत सबै विभागमा पुगेर बिरामीलाई हेर्नुपर्छ । ‘रेसिडेन्ट डाक्टर बस्ने बित्तिकै अस्पताल प्राज्ञिक थलो भयो,’ मेसु एवम् सह–प्राध्यापक डा. सुवेदी भन्छन्, ‘रेसिडेन्ट डाक्टरहरु २४ सैं घण्टा रहने भएकाले उनीहरु अस्पतालका वर्किङ मेनपावर पनि हुन्छन् ।’
आवासिय चिकित्सकबाट छिटो, छरितो सेवा प्रदान हुने, जनशक्तिको अभाव नहुने, अस्पताललाई आर्थिक भार कम पर्ने र बिरामीलाई पनि प्रत्यक्ष रुपमा फाईदा पुग्ने देख्छन्, मेसु सुवेदी । अस्पताल विकास समितिले एमडी/एमएस अध्ययन गर्ने आवासिय चिकित्सकलाई रात्रीकालिन भत्ता र बस्ने बास (क्वाटर)को मात्रै ब्यवस्था गर्नुपर्ने हुन्छ । त्यसबाहेक अन्य सेवा सुविधा उनीहरुलाई चिकित्सा शिक्षा आयोगले उपलब्ध गराउँछ । आयोगले नेपाल सरकारका अन्य चिकित्सकलाई प्रदान गरिने आठौं तह बराबरको तलब, भत्ता खुवाउँछ ।
बाहिरबाट हेर्दा अध्ययन गर्ने बिद्यार्थी जस्तो देखिएपनि पूर्ण छात्रबृत्ती प्राप्त आवासिय चिकित्सक हुन् । मेडिसिन विभागका आवासिय चिकित्सक डा. सुरेन्द्र अधिकारी भेरी अस्पतालमा बसेर एमडी अध्ययन गर्दा धेरै ज्ञान लिन पाउनेमा आशावादी छन् । ‘दिनहुँ कक्षा सञ्चालन हुन्छ, हप्तामा दुई वटा प्रस्तुतीकरण पनि गर्नुपर्छ,’ उनले भने, ‘हामीलाई पढाउने डाक्टर साबहरु पनि निकै अनुभवी हुनुहुन्छ, धेरै रोगहरुको अनुसन्धान गरिसकेको ब्यक्तिसँग अध्ययन गर्न पाउँदा हामीलाई त्यसैपनि गर्व महसुस भईरहेको छ, अर्को कुरा उहाँहरुबाट राम्रो माया पनि पाएका छौं ।’
पोखरा निवासी डा. अधिकारीले सन् २०२२ मा कलेज अफ मेडिकल साइन्स भरतपुर चितवनबाट एमबिबिएस पुरा गर्नु भएको हो । भेरी अस्पतालमा सिकलसेल एनिमिया, थालेसिमिया, कलाजार, मलेरिया, डेंगी जस्ता रोगका बिरामीहरु उपचारका लागि आउने भएकाले बिरामीलाई प्रत्यक्ष हेरेर अध्ययन/अनुसन्धान गर्न पाइने उनी बताउँछन् ।
सर्जरी विभागका रेसिडेन्ट डा. दिब्य बानिया अध्ययनका लागि भेरी अस्पतालको वातावरण एकदमै सहज रहेको बताउँछन् । ‘हामीले सहज वातावरणमाा अध्ययन गर्न पाएका छौं,’ उनले भने । भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन एवम मेडिसिन विभागका सह-प्राध्यापक डा. राजन पाण्डे बीर अस्पताल जतिकै भेरी अस्पताल पनि एमडी/एमएस अध्ययन गर्नमा सक्षम रहेको बताउँछन् ।
‘बीर अस्पताल भन्दा भेरी अस्पतालमा कुनैपनि कुराको कमी छैन,’ उनले भने, ‘भेरी अस्पतालमा सिकलसेल एनिमिया/थालेसिमिया, कालाजार, सर्पदंश, स्क्रपटाईफस, मलेरिया जस्ता रोग लागेका बिरामीलाई प्रत्यक्ष भेटेर अध्ययन गर्न पाइन्छ, तर यो सुविधा बीर अस्पतालमा नपाउन पनि सक्छ, किनकी हाम्रो यहाँ तराई क्षेत्रमा मात्रै देखा पर्ने मलेरिया, कालाजार जस्ता रोगका बिरामीहरु प्रायः हुन्छन््, बीर अस्पतालमा नहुन सक्छन् ।’
आगामी वर्ष ईएनटी(नाक, कान घाँटी) विभाग, रेडियोलोजी र छाला रोग विगाभमा एमडी/एमएसको अध्यापन थप्ने योजनामा अस्पताल रहेको छ । अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्रबहादुर शाह एमडी/एमएस पढाई सञ्चालनले भेरी अस्पतालको उचाई स्वभाविक रुपले बढेको बताउँछन् । ‘अस्पतालमा उपचार सेवासँगै शैक्षिक गतिविधि पनि बढेकाले यसको उचाई माथी उठेको हो,’ अध्यक्ष शाहले भने ।
एमडी/एमएस अध्यापनको प्रक्रिया
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स)ले सुरुमा सम्बन्धित सरकारी अस्पतालसँग ‘एमओयु’ गर्छ । सुरुमा सम्बन्धित अस्पतालमा फ्याकेल्टी प्रदान गर्नका लागि दुई वटा मापदण्ड निर्धारण गरिन्छ । एउटा अनुभव, अर्को सोधपत्र । अस्पतालले फ्याकेल्टीका लागि प्रस्ताव गरिसकेपछि सम्बन्धित विभागका चिकित्सकलाई प्राज्ञिक पद प्रदान गरिन्छ । सोही पदका आधारमा अस्पतालमा कति जना आवासिय चिकित्सक(एमडी/एमएस पढ्ने बिद्यार्थी) पढाउने भन्ने निर्णय न्याम्सले गर्छ ।
एमडी/एमएस अध्ययन गर्न चाहने बिद्यार्थीका लागि चिकित्सा शिक्षा आयोगबाट प्रवेश परिक्षा लिइन्छ । आयोगको परिक्षा उतीर्ण गरी उत्कृष्ट हुने बिद्यार्थीलाई पूर्ण छात्रबृत्ति प्रदान गरिन्छ । त्यसपछि न्याम्सले एमडी/एमएस विषय पढाउन सम्बन्धित अस्पतालमा पठाउँछ । आवासिय चिकित्सकका लागि चिकित्सा शिक्षा आयोगले सरकारी अस्पतालका आठौं तहका चिकित्सकले पाउने बराबरको मासिक तलब, भत्ता उपलब्ध गराउँछ, भने अतिरिक्स सेवा गरे वापतको सुविधा सम्बन्धित अस्पतालले प्रदान गर्छन् ।