खजुरा : २२ औं महिला स्वास्थ्य स्वयं सेविका दिवसका अवसरमा खजुरामा बिदाई तथा सम्मान कार्यक्रम गरिएको छ । ८ जना महिला स्वास्थ्य स्वयंसेविका लाई सम्मान गरिएको हो । १० हजार रुपैयाँ पुरस्कार सहित सम्मान पत्रले सम्मानित गरिएको हो ।
सम्मानित हुनेहरुमा वडा नम्बर १ बाट आस्मा वलि, वडा नम्बर २ बाट विर्मी कुमारी खत्री, वडा नम्बर ३ पूर्णकला कँडेल, वडा नम्बर ४ बाट सीमा विसी, वडा नम्बर ५ बाट अनरोक यादव, वडा नम्बर ६ बाट जैबूला नाउँ, वडा नम्बर ७ बाट रूपरानी कोरी, वडा नम्बर ८ बाट जोख माया के. सी. रहेका छन् ।
कार्यक्रममा सेवा निवृत हुने स्वास्थ्य स्वयं सेविकालाई सम्मान सहित बिदाई गरिएको हो । ६० वर्ष उमेर पुगेका ४ जना महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई नगद ५० हजार सहित फूलमाला र सम्मान पत्रले सम्मानित गरिएको थियो । सम्मान सहित बिदाई हुनेहरुमा राधापुर स्वास्थ्य चौकी अन्तर्गतका अमृता थापा बोहोरा, सोनपुर स्वास्थ्य चौकी अन्तर्गतका सदरुला खाँ र सतनी अहिरिन, आधारभूत स्वास्थ्य सेवा केन्द्र पुरैना अन्तर्गतका हाजार उमरानी रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी के. सी. वलीले जानकारी दिइन् । कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै स्वास्थ्य शाखा प्रमुख के.सिले खजुरा मातृ मृत्युदर घटाउन स्वास्थ्य स्वयं सेबिकाको भुमिका महत्त्व पूर्ण रहेको बताइन् ।
यसवर्ष मातृ मृत्युदर १ रहेको खजुरा गाउँपालिकामा विगतका वर्षहरुमा योभन्दा धेरै रहेको उल्लेख गरिन् । यो वर्ष धेरै सुधार भएको छ शाखा प्रमुख केसीले जनाइन् । महिला स्वास्थ्य स्वयसेविका दुर्गा देवी खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीका रूपमा रहेकी खजुरा गाउँपालिका उप प्रमुख मञ्जु मल्लले स्वयं सेविकाहरु जनस्वास्थ्यको खम्बा रहेको बताइन् ।
खजुरा गाउँपालिकाको सामाजिक विकास संयोजक कृष्णा पोखरेलले स्वास्थ्य स्वयंसेविकाको भूमिका प्रसंसनीय रहेको बताइन् । खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेलले महिला स्वास्थ्य स्वयं सेबिकाका लागि भनेर मासिक १ हजार , चाडपर्व खर्च भनेर ६ हजार पालिकाले दिँदै आएको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले पालिकाको स्वास्थ्य सेवामा सबैलाई पहुँचमा पुगाउन महत्त्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।