नेपालगन्ज : बाँकेका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल ब्यवसायी संघ बाँके, नेपालगन्जमा नयाँ नेतृत्व आएको छ । संघको ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।
संघको अध्यक्षमा भिमलाल कंडेल निर्वाचित भएका छन् । कंडेल संघको पुर्वअध्यक्ष हुन् । यही भदौं २१ गते अधिवेशन उद्घाटन गरिएको थियो । संघको बन्द शत्रले नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध रुपमा निर्वाचित गरेको हो ।
संघको वरिष्ठ उपाध्यक्षमा घनश्याम थापा, उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष(महिला) मा विष्णु शाही, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा थुमबहादुर क्षेत्री, कोषाध्यक्षमा एकराज पाण्डेय र सह-कोषाध्यक्षमा घनश्याम शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

यसैगरी सदस्यहरुमा अतुलकुमार गुप्ता, राजकुमार बि.क., मेघबहादुर गुरुङ, कुलबहादुर कार्की तथा सदस्य (महिला) मा गिता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका छन् । संघको कार्यसमितिमा बाँकी तीन जना सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत गौतमले बताए ।
नवनिर्वाचित अध्यक्ष कंडेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमले होटल ब्यवसाय क्षेत्र चिन्तित बनेको बताए । चुनौतीलाई चिरेर ब्यवसायलाई अगाडी बढाउने उनको भनाई छ । ‘समाजमा भिज्ने र बुझ्ने गरी हामी आफ्नो ब्यवसायमा लाग्नेछौं,’ उनले भने ‘सबैको राय, सुझाव सल्लाह अनुसार संघलाई अगाडी बढाउनेछु ।’
संघलाई सबै धर्म, समुदाय र बिचार समुहको साझा संस्थाको रुपमा विकास गर्दै लगिने पनि कंडेलले बताए । संघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई औपचारिक रुपमा प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गरिने निर्वतमान अध्यक्ष रंगबहादुर खड्काले जानकारी दिएका छन् ।



