नेपालगन्ज : सहकारीको रकम अपचलन मुद्दामा अदालतको आदेशपछि पनि न्याय नमिलेपछि दवाव स्वरुप नेपालगन्जमा आमरण अनसन थालिएको छ । सहकारी पीडितको पक्षमा निःशुल्क रुपमा कानुनी सहायता प्रदान गर्दै आएका पूर्वमेयर एवम् वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ताको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँकेको मुलगेटमा आमरण अनसन थालिएको हो । उनीसँगै सहकारी पीडितहरु माया पासी, रामचन्द्र पासी, मोतिकुमारी शर्मा, जुगुधी यादव लगायत पनि अनसनमा बसेका छन् ।
दुई तहको अदालतको आदेशबाट पनि पीडितले न्याय नपाएपछि बाध्य भएर आमरण अनसनमा बस्नु परेको गुप्ताले बताए । ‘सम्मानित अदालतले सहकारी पीडितकै पक्षमा फैसला गरेको छ, तर विडम्वना नै भन्नुपर्छ, अदालतको आदेश नै कार्यान्वयन भएको छैन,’ उनले भने, ‘पीडितहरुको अवस्था एकदमै दर्दनाक छ, कतिपय पीडितको त न्याय माग्दा माग्दै मृत्यु नै भईसकेको छ ।’
वरिष्ठ अधिवक्ता गुप्ताका अनुसार २०७६ सालमा उक्त सहकारीको रकम अपचलन सम्बन्धी मुद्दा बाँके जिल्ला अदालतमा चलेको थियो । त्यसपछि अदालतले २०८० पुस २६ गते सहकारी वित्तीय विकास संस्था लिमिटेडमा करिव ४३ करोड रुपैयाँ अपचलन भएको ठहर गर्यो । उक्त मुद्दामा सहकारी संस्थाका तत्कालिन अध्यक्ष, पदाधिकारी तथा कर्मचारीसहित १९ जना प्रतिवादीलाई सजाय दिने अदालतले आदेश गरेको थियो ।
जिल्लाको आदेश चित्त नबुझेको भन्दै प्रतिवादीहरु तुलसीपुर उच्च अदालत समक्ष पुगेका थिए । तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलासले २०८२ जेठ १४ गते जिल्लाकै आदेशलाई सदर गरेको थियो । ‘पीडितको माग अनुसार जिल्लाले एउटा निर्देशनात्मक आदेश दिएको थियो, जसमा पीडितहरुको बचत रकम फिर्ता गराउने र ऋणीहरुलाई ऋण फिर्ता गर्ने ब्यवस्था मिलाउन सहकारी विभागका रजिष्ट्रारलाई दुई महिनाभित्र काम गरिसक्न भनिएको थियो,’ वरिष्ठ अधिवक्ता गुप्ताले भने, ‘उच्चको आदेशमा पनि बचत रकम फिर्ता गराउने र ऋणीहरुलाई ऋण फिर्ता गर्ने ब्यवस्था मिलाउन सिडिओलाई नेतृत्वकारी भूमिका निभाउन जिम्मा दिएको थियो, तर अहिलेसम्म पनि कुनै उपलब्धी भएन ।’
चिसो कठ्यांग्रिदो जाडोमा जिल्ला प्रशासन कार्यालयको मुलगेटमा गरिएको आमरण अनसनले धेरैको ध्यान केन्द्रित गरेको छ । यहाँका सम्बद्ध सरोकारवालाले अदालतको आदेश अनुसार सहकारी पीडितलाई न्याय दिनुपर्ने भन्दै उनीहरुको मागप्रति ऐक्यवद्धता जनाएका छन् ।
पीडितहरुले आफुहरु न्यायको अन्तिम लडाईका लागि चिसो कठ्यांग्रिदो जाडोमा पनि आमरण अनसनमा बस्न बाध्य भएको बताएका छन् । ‘सहकारीमा राखेको हाम्रो पैसा हामीले फिर्ता पाउनुपर्यो,’ पीडित माया पासीले भनिन् ‘जबसम्म हाम्रो पैसा फिर्ता पाउँदैनौं, तबसम्म हामी अब कतै जादैनौं, बरु हामी यही मर्न तयार छौं ।’ नेपालगन्जको सदरलाईनमा रहेको सहकारी वित्तीय विकास संस्था लिमिटेडको ४३ करोड बढी रकम अपचलन भएको उक्त मुद्दामा १ हजार ५ सय २६ जना पीडित छन् ।