कोहलपुर : बाँकेको कोहलपुरमा बुधबारदेखि कोहलपुर महोत्सव–२०८२ सञ्चालनमा आएको छ । महोत्सवको विशेष समारोहबीच प्रमुख अतिथी एवम् नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरे ।
कोहलपुर न्यूरोडमा सञ्चालनमा आएको उक्त महोत्सवको उद्घाटन समारोहमा वैदिक विधिअनुसार स्वस्ति वाचनसहित दिप प्रज्वलन गरिएको थियो । यही पुस १८ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन गर्दै प्रमुख अतिथी ढकालले महोत्सवले बाँके जिल्लाको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने विश्वास व्यक्त गरे ।
प्रतिकूल मौसमका बाबजुद पनि कोहलपुर उद्योग वाणिज्य संघको विशेष आग्रहमा आफु लगायत महासंघका केन्द्रीय पदाधिकारीहरू कोहलपुर आएको उल्लेख गर्दै महोत्सवप्रति देखिएको उत्साहले आफू हर्षित भएको बताए । कार्यक्रममा बोल्दै विशिष्ट अतिथी एवम् पूर्वयुवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले कोहलपुर महोत्सव कोहलपुरका लागि गौरवको विषय भएको उल्लेख गर्दै यसले स्थानीय पहिचान र विकासलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मूल समारोह समितिका संयोजक प्रदीप भट्टराईले महोत्सवको उद्देश्य र महत्वमाथि प्रकाश पारेका थिए । सोही समारोहमा कोहलपुर नगरपालिकाका नगर प्रमुख, उप-प्रमुख तथा विभिन्न वडाध्यक्षहरूले महोत्सवले कोहलपुरलाई आर्थिक हबका रूपमा विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै, नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला नेतृत्वले विकासका साझा एजेण्डामा सबै राजनीतिक दल एकै ठाउँमा उभिनु सकारात्मक सन्देश भएको उल्लेख गरे ।
‘भिजिट बाँके नेशनल पार्क-२०२६’ शुभारम्भ
महोत्सवको अवसर पारेर बुधबार नै ‘बाँके नेशनल पार्क-२०२६’ अभियानको समेत औपचारिक शुभारम्भ गरियो । महोत्सवका प्रमुख अतिथी ढकाल, विशिष्ट अतिथी गहतराज तथा महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले संयुक्त रूपमा अभियानको शुभारम्भ गरेका हुन् ।
उद्घाटन समारोहका क्रममा अभियान सम्बन्धी ब्यानर सार्वजनिक गरिएको थियो । यस घोषणाले बाँके जिल्लाको पर्यटन प्रबर्द्धन र आर्थिक गतिविधिमा नयाँ गति दिने अपेक्षा गरिएको छ । महोत्सव उद्घाटन समारोहअघि कोहलपुर क्षेत्रमा विभिन्न मौलिक सँस्कृति झल्काउने झाँकी प्रदर्शन तथा साँस्कृतिक र्याली आयोजना गरिएको थियो । कोहलपुर चौराहाबाट सुरु भएको झाँकी सहितको उक्त र्यालीमा स्थानीय बासिन्दाको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।
२०६५ सालदेखि निरन्तर रूपमा सञ्चालन हुँदै आएको कोहलपुर महोत्सव यस वर्ष सातौँ संस्करणका रूपमा आयोजना गरिएको हो । महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रबर्द्धन, रोजगारी सिर्जना तथा कोहलपुर नगरको पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउने आयोजकले विश्वास लिएको छ ।
महोत्सवमा कुल ३ सय वटा स्टल राखिएको छ । जसअन्तर्गत २ सय ५० व्यावसायिक, २२ होटल, १५ प्रबर्द्धनात्मक, १० विषयगत प्रदर्शनी स्टल तथा थारू गाउँ विशेष आकर्षणका रूपमा समावेश गरिएको छ । साथै, महोत्सव अवधिभर राष्ट्रिय तथा स्थानीय कलाकारको दैनिक साँस्कृतिक प्रस्तुती, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, कृषि तथा विज्ञान प्रदर्शनी, जलपरी लगायतका विशेष कार्यक्रमहरू सञ्चालन हुने आयोजकले जनाएको छ ।
महोत्सव अवलोकनका लागि सामान्य टिकट १ सय रुपैयाँ र सहुलियत टिकट ८० रुपैयाँ निर्धारण गरिएको छ । शारीरिक रूपमा अपांगता भएका व्यक्ति तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । सञ्चारकर्मीहरूलाई प्रेस कार्डका आधारमा प्रवेश दिइनेछ । दर्शकको सुरक्षालाई ध्यानमा राख्दै सीसी क्यामेरा निगरानी, प्रशिक्षित सुरक्षा गार्ड, स्वास्थ्य सहायता कक्ष, आगलागी नियन्त्रण उपकरण, ट्राफिक तथा पार्किङ व्यवस्थापन सहित सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइएको आयोजक समितिले जनाएको छ ।