नेपालगन्ज : स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवाको सहभागिता अपरिहार्य रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । लुम्बिनी प्रदेश योजना आयोगको सहकार्यमा लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा प्रतिष्ठानले शुक्रबार आयोजना गरेको गोष्ठीमा बोल्ने सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।
लुम्बिनी प्राविधिक विश्व विद्यालय नेपालगन्ज बाँकेमा आयोजित उक्त कार्यक्रममा स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवा सहभागिताका विषयमा सरोकारवालाले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विभिन्न तीन फरक विषयमा प्रस्तुतीकरण गरिएको थियो । लुम्बिनी प्रदेश योजना आयोगका पूर्वउपाध्यक्ष डा. नहकुल केसी, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य तथा अर्थविद् डा. सुदनकुमार ओली र लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेगबहादुर भण्डारीले प्रस्तुतीकरण गरेका हुन् ।
लुम्बिनी प्राविधिक विश्व विद्यालयका उपकुलपति प्रा. डा. विनोद ढकालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा सहभागी वक्ताहरूले युवाको सक्रिय सहभागिता बिना दिगो आर्थिक विकास सम्भव नहुने भन्दै नीति निर्माणमा युवालाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जिवी ओलीले आर्थिक विकासका लागि राज्यले बनाउने नीति र ब्यवहारमा परिर्वतन ल्याउन आवश्यक रहेको बताए ।
कार्यक्रममा पत्रकार विजय मल्ल, बिद्यार्थी प्रतिनिधि प्रकाश शर्मा, अर्जुन अधिकारी, विवेक खड्का लगायतले स्थानीय अर्थतन्त्रको सवलीकरणका लागि युवा सहभागिताबारे आफ्नो धारणा राखेका थिए । लुम्बिनी प्राविधिक विश्व विद्यालय सेवा आयोगका सदस्य कृष्णप्रसाद घिमिरेले स्वागत गरेको कार्यक्रममा लुम्बिनी प्राविधिक विश्व विद्यालयका डिन डा. निरज केसीसहित विभिन्न क्षेत्रका विज्ञ, प्राध्यापक, विद्यार्थी, उद्योगी, ब्यवसायी, पत्रकार, सरोकारवालाको सहभागिता रहेको थियो ।