कोहलपुर : कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ । उन्नाइसौं नगर सभा सम्पन्न भएसँगै शुक्रबार नगर प्रमुख पूर्णप्रसाद आचार्यले चालू आर्थिक वर्षको हिउँदे अधिवेशन अन्त्य भएको घोषणा गरेका हुन् । नगर सभामा प्रस्तूत आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन-२०८२ पारित भएको छ ।
यस्तै नगर सभाबाट घर नक्सा पास अभिलेखिकरण असार मसान्तसम्म खुल्ला गर्ने निर्णय भएको छ । यसअघि आर्थिक वर्ष २०८२ साउनदेखि घर नक्सा पास अभिलेखिकरण बन्द भएको थियो । यस्तै नगर सभाले कोहलपुर नगरापालिकाको कर्मचारी संगठन संरचना संशोधनसहित पारित गरेको छ । उन्नाइसौं नगरसभामा नगर उप-प्रमुख संगिता सुवेदीद्धारा प्रस्तुत प्रगति समीक्षा र संशोधित बजेट पनि पारित भएको प्रमुख प्रशासकीय अधिकृत तथा सभाका सदस्य सचिव मानबहादुर गिरीले जानकारी दिए ।
हालसम्म विनियोजित बजेटमध्ये २८ प्रतिशत खर्च भएको छ । चालू आर्थिक वर्षका लागि विनियोजित कुल बजेट १ अर्व १७ करोड ४५ लाख ५ हजार मध्ये ३३ करोड ५० लाख एक हजार ८४ रुपैयाँ १४ पैसा खर्च भइ कुल बजेटको २८.४९ प्रतिशत बजेट खर्च भएको हो ।
जसमा चालु तर्फ ३५.११ प्रतिशत र पुँजिगत तर्फ १७.६१ प्रतिशत खर्च भएको छ भने विषयगत तर्फ बिनियोजित बजेटमा आर्थिक विकास तर्फ १४.२ प्रतिशत, सामाजिक विकासमा ३२.५१ प्रतिशत, पूर्वाधार विकास तर्फ ६.८९ प्रतिशत, सुशासन क्षेत्रमा १५.०१ प्रतिशत र कार्यालय संचालन तथा प्रशासनिक तर्फ ४७.५८ प्रतिशत खर्च भएको नगर उपप्रमुख सुवेदीद्धारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
यस्तै चालू आर्थिक वर्षमा राजश्व तर्फ प्रक्षेपण गरिएको रकम १३ करोड ३८ लाख २१ हजार १ सय ९३ रुपैयाँ रहेकोमा हालसम्म ४ करोड ४९ लाख ८२ हजार ५ सय ६२ रुपैयाँ ९६ पैसा संकलन भएकोछ । जसअनुसार हालसम्म ३३.६१ प्रतिशत राजश्व संकलन भएको छ ।
चालू आर्थिक वर्षको हालसम्म उपभोक्ता समितिबाट सम्झौता भइ कार्यान्वयन भइरहेका ४८ वटा योजना रहेका छन् भने शिलबन्दी दरभाउ पत्र अन्तर्गत ५ वटा र राष्ट्रिय बोलपत्र मार्फत २८ वटा योजना विद्युतिय ठेक्का प्रणाली मार्फत खुलेकोमा १४ वटाको सम्झौता भइ कार्यान्वयनको चरणमा रहेको पनि उनले बताइन् ।