नेपालगन्ज : निकुञ्ज क्षेत्रमा दिनहुँ बाघको आक्रमणबाट मानव जीवन असुरक्षित बन्दै गइरहेको अवस्थालाई राज्यले उच्च गम्भिरताका साथ लिनुपर्ने कांग्रेसले आग्रह गरेको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले शुक्रबार बाँके राष्ट्रिय निकुञ्ज कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो आग्रह गरेको हो ।
क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषणराज केसीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेललाई बुझाएको ध्यानाकर्षण पत्रमा हालसम्म झण्डै आधा दर्जनभन्दा बढी निर्दोष नागरिकहरूले बाघको आक्रमणबाट अकालमा ज्यान गुमाइसकेको अवस्था अत्यन्तै दुःखद, चिन्ताजनक र मानव सुरक्षाको दृष्टिकोणले गम्भिर विषय बनेको उल्लेख छ । बाघको आक्रमणका कारण निरन्तर रूपमा सर्वसाधारण नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको घटनाप्रति कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नम्बर १ बाँकेको गम्भिर ध्यानाकर्षण भएको जनाइएको छ ।
भिडियो हेर्नुस् :
हालै राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ सौरी निवासी ६१ वर्षीय मरिचमान भण्डारीको बाघको आक्रमणबाट निधन भएको थियो । उक्त बाघको तत्काल पहिचान गरी नियन्त्रणमा लिई सुरक्षित स्थानमा स्थानान्तरण गर्न, साथै मानव क्षतिको न्यूनीकरणका लागि विशेष र प्रभावकारी पहल गर्न कांग्रेस क्षेत्र नम्बर १ ले माग गरेको छ । बाघको आक्रमणबाट अकालमा ज्यान गुमाउन पुगेका स्वर्गिय भण्डारीको परिवारलाई प्रचलित कानुन बमोजिम तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायमार्फत आवश्यक पहल गरिदिन अनुरोध गरिएको छ ।

‘भविष्यमा यस्ता दुःखद घटनाहरू दोहोरिन नदिन बाघ लगायत अन्य जंगली जनावरबाट हुने मानविय क्षतिको न्यूनीकरणका लागि वैज्ञानिक मापदण्ड अपनाई, निकुञ्ज क्षेत्र वरपर बसोबास गर्ने नागरिकहरूलाई ढुक्क, सुरक्षित र निर्भिक रूपमा बाँच्न पाउने वातावरणको सुनिश्चितता गर्न दीर्घकालीन र प्रभावकारी व्यवस्थापन योजना कार्यान्वयन गरिनु अत्यावश्यक देखिन्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ । उपरोक्त विषयहरूलाई गम्भिरतापूर्वक मनन् गरी तत्काल आवश्यक कदम चाल्ने कांग्रेसको छ ।
ध्यानाकर्षण पत्र बुझिसकेपछि निकुञ्जका प्रमुख संरक्षण अधिकृत बीरेन्द्रप्रसाद कँडेलले बीरेन्द्रप्रसाद कँडेलले प्रकृति संरक्षण, जैविक विविधताको संरक्षण र वन्यजन्तु संरक्षणको काम निकै चुनौतीपूर्ण रहेको भन्दै संरक्षित वन्यजन्तुबाट हुने क्षति रोक्न सबै निकायबीच हातेमालो जरुरी रहेको बताए । ‘कुनै सिंगो निकाय एक्लैले गरेर सम्भव छैन, सबै तह, र तप्कामा रहेका बीच हातेमालो गर्न जरुरी छ,’ उनले भने ‘राप्ती सोनारी-१ सौरीमा मरिचमान भण्डारीको अकल्पनीय दुःखद घटना भयो ।’

मृतकका परिवारलाई राहत दिने प्रक्रिया अगाडी बढिसकेको प्रमुख संरक्षण अधिकृत कँडेलले बताए । ‘तत्काल राहत कोषबाट काज किरिया खर्च भनेर ५० हजार दिईसकेका छौं, अर्को आय, आर्जन कोषबाट ५० हजार हामीले दिइसकेका छौं, निकट भविष्यमा हामीले १० लाख रुपैयाँ पनि दिनेछौं,’ उनले भने । भविष्यमा यस्ता घटना दोहोरिन नदिन नियमित गस्ती, पेट्रोलिङ, सचेतना अभियान लगायतका काम गरिने बताए ।
कांग्रेस क्षेत्र नम्बर १ ले शुक्रबार नै जिल्ला प्रशासन कार्यालय बाँकेमा पुगेर प्रमुख जिल्ला अधिकारी दिलबहादुर तामाङलाई पनि ध्यानाकर्षण पत्र बुझाउँदै आवश्यक पहल गरिदिन आग्रह गरेको छ । यस्तै बाघको आक्रमणबाट निधन भएका स्वर्गिय भण्डारीको निवास राप्ती सोनारी-१ सौरीमा पुगेर मृतकप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।
सो क्रममा नेपाली कांग्रेस प्रदेश सभा-१ ‘ख’ का सभापति बलराम शर्मा, क्षेत्रीय सचिव खुमबहादुर बस्नेत, नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष रुद्र सुवेदी, नेपाल प्रेस युनियन बाँकेका निर्वतमान अध्यक्ष अर्जुन ओली लगायतको उपस्थिती रहेको थियो ।


सम्बन्धित समाचार :
बाघको आक्रमण : मृतकका परिवारलाई तत्काल राहत दिन माग
बाघको आक्रमणबाट बाँकेको कुसुममा भण्डारीको मृत्यु