नेपालगन्ज : नेपालगन्जमा दशौं लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीको तयारी गरिएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा यही माघ १४ देखि १८ गते सम्म प्रर्दशनी हुदैछ । महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सामाग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवद्र्धन गर्ने लक्ष्य सहित महिला उद्यमी संघ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रर्दशनी गर्दै आएको छ ।
आयोजक महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रर्दशनीको तयारी तीव्र पारिएको बताएकी छन् । ‘महिला दिदीबहिनीहरुलाई उद्यमशीलता तर्फ आर्कषित गर्न यो प्रर्दशनी महत्वपुर्ण सावित हुँदै गएको छ, विगतमा जस्तै दशौं संस्करणलाई भव्य बनाउन सम्पुर्ण महानुभावहरुको हामीले सहयोगको अपेक्षा गरेका छौं, उनले भनिन् । लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनीको १० औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ ।
नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगडको मुख्य प्रयोजनमा हुन लागेको उक्त प्रर्दशनीमा लुम्बिनी प्रदेशका १२ जिल्ला सँगै कर्णाली र सुदुरपश्चिमका गरी करिव दुई सय महिला उद्यमीहरुको सहभागिता रहने प्रर्दशनी संयोजक एवम महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले जानकारी दिइन् ।
महिला उद्यमी संघ नेपाल बाँके महासचिव बिन्दु चर्तिमगरले प्रर्दशनीमा करिव ७० स्टल रहने जानकारी दिदै कृषिजन्य सामाग्री, हस्तकला सामाग्री, खाद्य सामाग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरी कल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, श्रृंगार तथा गर–गहना लगायतका सामाग्री तथा बस्तुहरु बिक्री वितरण तथा प्रचार प्रसारका लागि राखिने बताइन् ।
करिव ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेश स्तरीय प्रर्दशनी–२०८२ अवलोकन गर्नको लागि निःशुल्क व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रर्दशनीका दौरान विज्ञहरुको उपस्थितीमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि ‘बैकिंक कारोबार, उद्यमशिलताको बारेमा अभिमुखिकरण कार्यक्रमको समेत आयोजना गरिनेछ ।
महिला उद्यमी महासंघ नेपालको केन्द्रिय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् । महिला उद्यमी संघ नेपाल बाँकेका निवर्तमान अध्यक्ष सावित्रा पोख्ररेल बस्नेतले प्रर्दशनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।