(बाँके)राप्ती सोनारी : राप्ती सोनारी गाउँपालिका-३ नम्बर वडामा सञ्चालनमा रहेका विभिन्न व्यापार-व्यवसायको आइतबार अनुगमन गरिएको छ । गाउँपालिका उपाध्यक्ष मनिषा सिंह थारुको संयोजकत्वमा वडाका जनप्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी तथा प्रहरीको संयुक्त टोलीले व्यवसाय अनुगमन, निरीक्षण तथा तथ्यांक अभिलेखीकरण गरेको हो ।
अनुगमनका क्रममा वडाभित्र सञ्चालनमा रहेका पसल तथा अन्य व्यवसायको दर्ता, नविकरणको अवस्था तथा नयाँ थपिएका व्यवसायको विवरण संकलन गरिएको छ । राजस्व परामर्श समितिकी संयोजक तथा अनुगमन टोलीकी संयोजक समेत रहेकी उपाध्यक्ष मनिषासिंह थारुले सबै प्रकारका व्यवसायलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन सुरु गरिएको जानकारी दिइन । उनका अनुसार वडाभित्र केही नयाँ व्यवसायहरू थपिएको पाइएको र त्यस्ता व्यवसायीलाई गाउँपालिकामा दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने विषयमा सचेत गराइएको छ ।
अनुगमनका क्रममा दर्ता नभई सञ्चालन भइरहेका व्यवसायीलाई व्यवसाय सूचीकृत तथा दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको राप्ती सोनारी ३ का वडा अध्यक्ष मिनकुमार चौधरीले जानकारी दिए । गाउँपालिकाले स्थानीय व्यवसायलाई व्यवस्थित बनाउन हरेक वर्ष सबै वडामा व्यवसाय सूचीकृत, दर्ता तथा नविकरण शिविर सञ्चालन गर्दै आएको जनाएको छ ।
राप्ती सोनारी गाउँपालिका राजश्व शाखा प्रमुख मिनाकुमारी श्रेष्ठका अनुसार यस वर्ष पनि गाउँपालिकाका ९ वटै वडामा अनुगमन तथा तथ्यांक संकलन सम्पन्न भएपछि दर्ता तथा नविकरण शिविर सञ्चालन गरिने योजना रहेको छ ।
अनुगमन कार्यक्रममा राप्ती सोनारी गाउँपालिका-३ का वडा अध्यक्ष मिनकुमार थारु, वडा सदस्य पुनुवा थारु, गाउँपालिकाका पशु शाखा प्रमुख जयबहादुर कार्की, गैरसरकारी संस्था तथा सहकारी शाखा प्रमुख गंगाकुमारी ओली तथा ईलाका प्रहरी कार्यालय धामपुरका प्रहरी हवल्दार मिनसिंह कँवर लगायतको सहभागिता रहेको थियो ।