काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक उच्च अंकले बढेको छ। बुधबार ४५.१२ र आज ४८.७१ अंक गरी यो दुई दिनमा नेप्से ९३.८३ अंकले बढेको हो। यसदिन नेप्से बढेपनि कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।
बुधबार ८ अर्ब ३१ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएको छ। यसदिन ३२७ वटा धितोपत्रको एक करोड ५५ लाख ८८ हजार १५ कित्ता सेयर किनबेच भएको हो। बिहीबार २५१ कम्पनीको सेयर मूल्य बढेको छ भने १६ वटाको घटेको छ। यस्तै, एक कम्पनी स्थिर छ। यसदिन आठ कम्पनीमा सकारात्मक सर्किट लागेको छ।
आत्मनिर्भर लघुवित्त, रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर, रिज लाइफ इनर्जी, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको मूल्य १० प्रतिशत, सुपर खुदी हाइड्रोपावर र सूर्यकुन्ड हाइड्रोको सेयर मूल्य ९.९९ प्रतिशतका दरले बढेको छ। सर्वाधिक मूल्य घट्नेमा एनआइसी एसिया ब्यालेन्सड् फण्ड रहेको छ।
उक्त योजनाको मूल्य ६.७४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ८३ पैसामा झरेको छ। यसैगरी, स्वेत गंगा हाइड्रोपावरको मूल्य २.५५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ४१३ रूपैयाँ २० पैसामा सीमित भएको छ। बिहीबार नेसनल हाइड्रोपावको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको ३०७ रूपैयाँमा ४३ करोड ४७ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा ६.६० प्रतिशत बढेको हो। सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिडी पावर रहेको छ। उक्त कम्पनीको ३७२ रूपैयाँमा ४१ करोड ३४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो। यसमध्ये अन्य समूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशतले बढेको छ।