नेपालगन्ज : कुनैबेला दैनिक रुपमा मुस्किलले १० हजार रुपैयाँ बराबरको कारोबार गर्ने नेपालगन्ज एकलैनीका विकास गुप्ताको अचेल दैनिक ८० हजारदेखी १ लाख रुपैयाँसम्म कारोबार हुन्छ । किराना ब्यवसाय गरिरहेका उनको पसलमा अचेल उपभोक्ताको बढी भिडभाड हुन्छ । खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तुहरु उनले बिक्रीका लागि राखेका छन् ।
सरकारले भारतबाट एक सय रुपैयाँभन्दा बढीको सामान आयात गर्दा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने बाध्यकारी ब्यवस्था ल्याएसँगै नाकामा कडाई गरेपछि गुप्ताको पसलमा केही समय यता चहल पहल बढेको हो । ‘पसलमा ग्राहकहरुको भिड बढेको छ, ब्यापार अहिले ठिकै चलेको छ,’ उनले भने, ‘अहिले म जस्ता हरेक ब्यापारी खुसी छन् ।’
ब्यापार बढेपछि आफु लगायत धेरै ब्यापारीहरु अहिले खुसी रहेको गुप्ताले सुनाए । ‘पहिले दैनिक रुपमा मुस्किलले १० हजार बराबरको कारोबार हुन्थ्यो, अहिले ८० हजारदेखी एक लाख सम्मको पनि कारोबार हुन्छ,’ उनले थपे । सरकारले यो नीतिलाई कडाईका साथ लागु गर्नुपर्ने उनको माग छ । ‘सस्तो मुल्यमा पाइने भन्दै नेपाली उपभोक्ताहरु पहिले सामान किन्न रुपैडिहा बजार जाने प्रवृत्ति थियो, सरकारले कडाई गरेपछि अहिले सिमापारी जाने ति उपभोक्ताहरु हाम्रो पसलमा आएर सामान किन्न थालेका छन्,’ गुप्ताले भने । गुप्ता जस्तै पुस्तक ब्यवसायी विश्वम्भर ओलीको पनि अनुभव उस्तै छ ।
नेपालगन्जको गुरुद्धारा नजिक स्टेशनरी पसल चलाइरहेका उनी पछिल्लो समयमा ब्यवसाय ह्वात्तै बढेको बताउँछन् । ‘अहिले नेपाली उपभोक्ताले नेपालगन्जमै स्टेशनरीका सामान किन्न थालेका छन्, त्यसकारण स्वभाविक रुपले हाम्रो ब्यापारमा बृद्धि भएको छ,’ व्यवसायी ओलीले भने । उनका अनुसार सरकारले भन्सारमा कडाई नगर्दा प्रायः नेपाली उपभोक्ताहरु पाठ्यपुस्तक बाहेक अन्य सामान किन्न रुपैडिहाका पसलहरु धाउँथ्ये ।
अहिले भने सबै सामान नेपालगन्जका पसलबाट किन्ने गरेको उनले सुनाए । यसअघि दैनिक रुपमा हजारौंको संख्यामा नेपाली उपभोक्ताहरु सिमापारी रुपैडिहा जाने गरेका थिए । त्यसरी नेपाली उपभोक्ताहरु किनमेलका लागि जादाँ दैनिक रुपमा करोडौं रुपैयाँ देश बाहिर जाने गरेको थियो । यसले गर्दा ब्यापारीहरु निराश थिए । यस विषयमा ब्यापारीहरुले सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए । तरपनि, नेपाली ब्यवसायीको मागप्रति सुनुवाई भएको थिएन ।
सरकारको कडाईपछि बजार चहल पहल भएसँगै ब्यापार ब्यवसायमा बृद्धि भएपछि ब्यवसायीहरु खुसी देखिन्छन् । भारतबाट नेपालगन्ज नाका हुदै पेट्रोलियम पदार्थ, मोटर पार्ट्स, खाद्यान्न, कपडा, तरकारी, फलफुलजन्य लगायत सामानहरु आयात हुन्छन्, भने नेपालगन्जबाट जडिबुटी लगायतका सामानहरु निर्यात हुन्छन् । उपभोक्ताले एक सय रुपैयाँभन्दा माथीको सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने नीति कार्यान्वयनमा आउँदा यसले नेपाली ब्यापारी, किसानलाई ठुलो राहत दिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी बताउँछन् । ‘सरकारले भन्सारमा कडाई गर्दा अहिले नेपालगन्जको ब्यापारमा ७५ देखी १ सय प्रतिशत सम्म बृद्धि भएको छ,’ उनले भने, ‘यही नीतिलाई निरन्तरता दिइयो भने नेपालगन्जमा ब्यापार ब्यवसायप्रति मान्छेको आर्कषण बढ्नेछ ।’ सरकारले भन्सार चेकजाँचलाई कडाईका साथ अगाडी बढाउनुपर्ने अध्यक्ष धामी बताउँछन् ।
सरकारले एक सय भन्दा बढीको सामान ल्याउँदा भन्सार गराउनुपर्ने नियम ल्याएपछि केही ब्यक्तीले अफ्वाह फैलाउने काम गरेको उनको आरोप छ । ‘नेपाली उपभोक्ताहरु यसअघि रुपैडिहा बजारमा ठगिने गरेका थिए, अहिले नेपाली उपभोक्ताहरुले आफ्नै देशमा किनमेल गर्न पाएका छन्, ब्यापारी र किसानले राज्यलाई कर तिरेर पनि आफ्नो सामान र उत्पादन बिक्री गर्न पाएका छन्,’ धामीले थपे ।