सुर्खेत : ‘अन द ल्याप अफ नेचर एण्ड कल्चर’ अर्थात् ‘संस्कृति र प्रकृतिको काखमा’ भन्ने नारासहित सुरु भएको ‘कर्णाली टुरिजम् मिट-२०२६’ ले कर्णाली प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन बजारसँग जोड्ने नयाँ आशा जगाएको छ ।
नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको आयोजना तथा होटल व्यवसायी महासंघ सुर्खेत, दुल्लु नगरपालिका गुराँस गाउँपालिकाको समन्वयमा बिहीबार वीरेन्द्रनगरमा सुरु भएको सम्मेलनमा कर्णालीको पर्यटन सम्भावना, सांस्कृतिक वैभव र दिगो पर्यटन विकासबारे बहस गरिएको छ ।
कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीको प्रमुख आतिथ्यता उद्घाटन गरिएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौला, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐर, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल, गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी, सुर्खेतका प्रमुख जिल्ला अधिकारी जग्दिश्वर उपाध्याय, नेपाल एसोसिएसन फर टुर एण्ड ट्राभल्स (नाटा)बाँके शाखाका प्रमुख तथा प्रतिनिधिहरु, कर्णाली र लुम्बिनी प्रदेशका पर्यटन व्यवसायीहरु, भारतीय पर्यटन व्यवसायी, निजी क्षेत्र तथा पर्यटनकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
कर्णाली टुरिजम् मिट-२०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका पर्यटनमन्त्री सुरेश अधिकारीले कर्णालीलाई विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य भएको उल्लेख गर्दै यहाँको पर्यटन विकासले समग्र नेपालको आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने बताए । उनले कर्णालीलाई विगतदेखि नै भौगोलिक विकटताको रुपमा हेरिएको भए पनि अहिले अथाह पर्यटकीय सम्भावना बोकेको भूमिको रुपमा परिचित भइरहेको उल्लेख गरे ।
“कर्णाली घुम्ने मात्र होइन, अनुभूति गर्ने भूमि हो,” उनले भने, “यहाँको संस्कृति, प्रकृति र समुदाय नै यसको वास्तविक शक्ति हो ।” उनले कर्णालीका रारा, शे–फोक्सुण्डो, काँक्रेविहार, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गर्न आवश्यक रहेको उल्लेख गरे । पर्यटनमन्त्री अधिकारीले थपे, “नेपाल–भारत सम्बन्ध आगामी दिनमा अझ प्रगाढ बन्नेछ । यस कार्यक्रमले दुई देशबीच पर्यटन सहकार्यलाई नयाँ उचाइमा पुर्याउनेछ ।”
त्यसैगरी पर्यटन सचिव मुकुन्दप्रसाद निरौलाले कर्णाली नेपालको पश्चिम भूगोलको एउटा प्रदेश मात्र नभई नेपाली सभ्यता, हिमाली संस्कृति, जैविक विविधता र मौलिक जीवनशैलीको जीवन्त संग्रहालय भएको बताए । “आज विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभव खोजिरहेको छ,” उनले भने, “पर्यटकहरु संस्कृति बुझ्न, स्थानीय जीवन अनुभव गर्न, आध्यात्मिक शान्ति खोज्न र प्रकृतिसँग पुनः जोडिन यात्रा गरिरहेका छन् । कर्णालीले यिनै सबै विशेषता बोकेको छ ।”
सचिव निरौलाले सुर्खेत अब केवल ट्रान्जिट नभई कर्णाली पर्यटनको रणनीतिक केन्द्रका रूपमा विकास भइरहेको उल्लेख गर्दै सडक, हवाई पहुँच, होटल पूर्वाधार र व्यापारिक गतिविधिका कारण यसको महत्व बढेको बताए । “कर्णाली प्रवेश गर्ने पर्यटकका लागि सुर्खेत पहिलो अनुभव हो,” उनले भने, “त्यो अनुभवलाई व्यवस्थित, गुणस्तरीय र स्मरणीय बनाउन पर्यटन व्यवसायीहरु अझ जिम्मेवार हुन आवश्यक छ ।”