नेपालगन्ज : नेपालगन्ज र कोहलपुर क्षेत्रमा कार्यरत प्रसूति तथा स्त्रीरोग विशेषज्ञ चिकित्सकहरूका लागि प्रसव फिष्टुला सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । आई एन एफ नेपाल अन्तर्गत सञ्चालित साइनिङ अस्पताल आईएनएफ सुर्खेतको आयोजनामा शनिबार भएको कार्यक्रममा बाँके जिल्लाका २६ जना चिकित्सकहरूको सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा प्रसव फिष्टुलाको पहिचान, रोकथाम, उपचार तथा बिरामीलाई समयमै उपचार केन्द्रसम्म पहुँच गराउने विषयमा जानकारी प्रदान गरिएको थियो । फिष्टुला सेन्टर सुर्खेतकी आउटरिच कोर्डिनेटर कान्ति शर्माका अनुसार चालु आर्थिक वर्षमा मात्रै ६१ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । साथै हालसम्म ५७० जना महिलाले कर्णाली प्रदेशस्थित सुर्खेत फिष्टुला उपचार केन्द्रबाट उपचार सेवा प्राप्त गरिसकेका छन् ।
कार्यक्रममा बोल्दै फिष्टुला सेन्टरकी डाक्टर शुभेच्छा श्रेष्ठले पछिल्ला वर्षहरूमा नयाँ बिरामीको संख्या केही घट्दो अवस्थामा रहे पनि पुराना बिरामी अझै उपचारको पहुँचमा आउन नसकेको बताइन् । प्रसव फिष्टुला लामो तथा कठिन सुत्केरी व्यथाका कारण हुने गम्भीर स्वास्थ्य समस्या हो । यसका कारण महिलाको पिसाब थैली वा आन्द्रामा प्वाल पर्न गई लगातार पिसाब वा दिसा बगिरहने समस्या देखिने गर्दछ ।
फिष्टुलाका कारण महिलाले शारीरिक पीडासँगै सामाजिक तथा मानसिक समस्या पनि भोग्नुपर्ने अवस्था आउने चिकित्सकहरूले बताएका छन् । फिष्टुला सम्बन्धी जनचेतना अभिवृद्धि गर्न वितरण गरिएको जानकारी पुस्तिकामा समयमै स्वास्थ्य संस्थामा सुत्केरी गराउने, नियमित गर्भ परीक्षण गर्ने, कम उमेरमा विवाह तथा गर्भधारण नगर्ने, र जटिल अवस्था देखिए तुरुन्त सुविधा सम्पन्न अस्पतालमा रेफर गर्ने उपाय अपनाए प्रसव फिष्टुलाबाट बच्न सकिने उल्लेख गरिएको छ ।
सुर्खेतस्थित प्रदेश अस्पतालको फिष्टुला उपचार केन्द्रमा प्रसव फिष्टुलाको निःशुल्क शल्यक्रिया हुने व्यवस्था रहेको आयोजकले जनाएको छ । साथै बिरामी र एक जना कुरुवाका लागि आउने–जाने यातायात तथा खानाखर्च समेत सहयोग गरिने जानकारी दिइएको छ ।