नेपालगन्ज : बाँकेको राप्ती सोनारीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत तोकिएका सबै सूचांक पूरा गरेपछि गाउँपालिकालाई बुधबार औपचारिक समारोहबीच घोषणा गरिएको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्रकुमार केसीका अनुसार जन्मेदेखि १५ महिनासम्मका १ हजार २ सय ७५ जना बालबालिका तथा २४ देखि ५९ महिनासम्मका ३ हजार २ सय १८ जना बालबालिकालाई पूर्ण खोप प्रदान गरेपछि राप्ती सोनारीलाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी एवम् जिल्ला समन्वय समिति बाँकेका उप-प्रमुख सिता कार्कीले राप्ती सोनारी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना कायम भएको पालिका घोषणा गरिन् । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उपप्रमुख कार्की र स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत गोकर्ण गिरीले संयुक्त रूपमा गाउँपालिका स्तरीय खोप समन्वय संयोजक एवम् कार्यबाहक अध्यक्ष मनिषा सिंह थारुलाई पूर्ण खोप घोषणाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले राप्ती सोनारीलाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सफल हुनुमा महिला स्वास्थ्य स्वयं सेविकाहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइन् । गाउँ–गाउँमा पुगेर बालबालिकालाई नियमित खोपको पहुँचमा ल्याउन महिला स्वास्थ्य स्वयं सेविकाले गरेको मेहनतको प्रशंसा गरिन् ।
सो क्रममा राप्ती सोनारी गाउँपालिकाकी कार्यवाहक अध्यक्ष मनिषा सिंह थारुले आगामी दिनमा पनि पूर्ण खोप अवस्थालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । नियमित खोप कार्यक्रमलाई अझ प्रभावकारी, व्यवस्थित र पहुँचयुक्त बनाइने बताउँदै कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि तथा स्थानीय नागरिकप्रति उनले आभार व्यक्त गरेकी थिइन् ।
उक्त कार्यक्रममा गाउँपालिका खोप समन्वय समितिले सार्वजनिक गरेको प्रतिबद्धता–पत्रमा कुनैपनि बालबालिका खोप सेवाबाट बञ्चित नहुने कुरा सुनिश्चित गरिने उल्लेख गरिएको थियो । यस्तै आगामी दिनमा पनि खोप कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै पूर्ण खोप सुनिश्चितता र दिगोपनालाई कायम राख्ने सामूहिक प्रतिबद्धता व्यक्त गरिएको थियो ।
त्यस क्रममा लामो समयदेखि स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएर नियमित अवकाशमा गएका फत्तेपुर स्वास्थ्य चौकीमा कार्यरत महिला स्वास्थ्य स्वयं सेविका विजया कलवार तथा आधारभूत स्वास्थ्य केन्द्र कमैया डाँडामा कार्यरत बुद्धी क्षेत्रीलाई सम्मान सहित विदाइ गरियो ।
कार्यक्रममा सहभागीहरूले उनीहरुको सेवाभाव, समर्पण र समुदायप्रतिको योगदानको उच्च प्रशंसा गरेका थिए । बाँकेको नेपालगन्ज उपमहानगरपालिका र जानकी गाउँपालिकालाई पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिसकिएको छ ।