बाँके(बैजनाथ) : बाँकेको बैजनाथ गाउँपालिकाले किसानलाई ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरेको छ । किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत शुक्रबार ७६ थान डिजिटल तराजु वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, उपाध्यक्ष निर्मला रोकाय, कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हल्वाई र कृषि शाखा प्रमुख प्रमोदकुमार विश्वकर्माले किसानलाई डिजिटल तराजु हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले किसानले उत्पादन गरेका बस्तुलाई बजारीकरण गर्नका लागि पारदर्शिता र विश्वसनीय बनाउन किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा डिजिटल तराजु वितरण गरिएको बताए । ‘किसानले उत्पादन गरेको बस्तु खरिद गर्ने ब्यक्ती वा ब्यवसायी र किसानबीचको विश्वास बढाउने, परिणाम सही निकाल्ने काम डिजिटल तराजुले गर्नेछ,’ उनले भने, ‘किसानको उत्पादनलाई बजारीकरण गर्नमा डिजिटल तराजुले मद्धत गर्नेछ ।’
किसानसँग पालिका प्रमुख कार्यक्रममा किसानलाई जोडेर स्थानीय सरकारले किसानलाई ७० प्रतिशत अनुदान र पूर्ण अनुदानमा प्रविधिसँग जोड्ने काम गरिरहेको अध्यक्ष शाहीको भनाई छ । किसानसँग पालिका प्रमुख कार्यक्रम लागु भएपछि किसानलाई कृषि यान्त्रीकरणमा जोडेको अध्यक्ष शाहीले बताए ।
‘२०७९ सालमा दोस्रो कार्यकालका लागि निर्वाचित भएर आएपछि किसानसँग पालिका प्रमुख कार्यक्रम सुरु गरेका हौं, यो कार्यक्रमबाट विगत चार वर्षदेखी धेरै किसानलाई जोडिसकेका छौं,’ उनले भने, ‘हामीले गरेको कामबाट प्रभावित भएर अरु स्थानीय तहले पनि पछिल्लो समयमा किसान लक्षित यान्त्रीकरण अनुदानमा वितरण गर्न थालेका छन् ।’
स्थानीय सरकारले वितरण गरेका यान्त्रीकरणको सही रुपले सदुपयोग गर्न किसानहरुलाई अध्यक्ष शाहीले आग्रह गरेका छन् । ‘हामीले वितरण गरेका यान्त्रीकरणको मद्धतले तपाईको कृषि उत्पादन बढ्नुपर्यो, यसको सही सदुपयोग गर्नुहोला, यि सामानमा ३० प्रतिशत तपाईको लगानी छ, भने ७० प्रतिशत लगानी हाम्रो छ, यसको सदुपयोग गरेर राख्नुहोला,’ उनले भने ।
गाउँपालिका कृषि शाखाका कर्मचारी सचिन मेघनाथका अनुसार उक्त कार्यक्रमका लागि गाउँपालिकाभरीका ९६ जना किसानले निवेदन दिएकोमा ७६ थान डिजिटल तराजु विभिन्न समुह र ब्यक्तिगत रुपमा वितरण गरिएको हो । डिजिटल तराजु ७० प्रतिशत अनुदानमा पाउँदा किसानहरु खुसी भएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत अन्य कृषि यान्त्रीकरणहरु पनि वितरण गर्दैछ ।