पोखरा : मुस्ताङको कोरला भन्सार हुँदै नेपाल भित्रिएका ७ सय ८२ विद्युतीय गाडी (ईभी) प्रकरणमा भन्सार अधिकारी र सम्बन्धित व्यवसायी छानबिनमा तानिने भएका छन्। बजेट भाषणमार्फत करको दरको सूचना चुहावट गरी अवैध रूपमा ईभी प्रवेश गराएकोमा सरकारले अनुसन्धान र कारबाही अघि बढाएको हो।
अधिकांश बीवाईडीका गाडी रहेको यस प्रकरणमा अर्थ मन्त्रालय र भन्सार विभाग दुवै निकायले बेग्लाबेग्लै रूपमा समिति गठन गरिसकेको छ। ‘रसुवा भन्सारदेखि केन्द्रकै को-को कर्मचारीको मिलेमतो छ भन्ने समितिले एकिन गर्नेछ। बीवाईडीका नेपालका व्यवसायीसमेत छानबिनमा परेका छन्, सरकारी स्रोतले बतायो।
भन्सार कर छल्ने उद्देश्यले कागजात मिलाएर कार भिœयाएको आशंकामा अघिल्लो दिन उक्त परिमाणका ईभी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो। सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराका प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपेन्द्र शाहका अनुसार नियन्त्रणमा लिइएका गाडीमध्ये मुस्ताङको जोमसोमबाट करिब २ सय ६५ वटा, नेचुङ (कोरला नाका) बाट करिब ३ सय ९८ वटा, पर्वतबाट १७ वटा, कास्कीबाट ९८, नुवाकोटबाट २ र धादिङ आदमघाटबाट २ रहेका छन्।
नियन्त्रणमा परेका अधिकांश गाडी बीवाईडी ब्रान्डका छन्। उक्त ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले ती गाडी झिकाएको हो। डीआईजी शाहका अनुसार बुधबार राति र बिहीबार बिहान गरी ती कार नियन्त्रणमा लिइएका हुन्। भन्सार प्रक्रिया र राजस्वसँग सम्बन्धित केही शंकास्पद विषय देखिएपछि गाडीहरू नियन्त्रणमा लिइएको उनले सुनाए। ‘हिजो (बुधबार) राति सशस्त्र प्रहरीले केही ईभी गाडीहरू नियन्त्रणमा लिएको छ।
भन्सार प्रक्रिया र राजस्वको विषयमा केही शंकास्पद कुराहरू देखिएको हुनाले ती गाडीहरू नियन्त्रणमा लिइएका हुन्,’ शाहले भने, ‘यस विषयमा भन्सारका कागजातहरू र प्रज्ञापनपत्र हेरेपछि मात्र थप कुरा स्पष्ट हुनेछ। त्यसपछि प्रक्रियाअनुसार सम्बन्धित निकायलाई बुझाउने वा के गर्ने भन्ने निर्णय हुन्छ।’