खजुरा : बाँकेको खजुरा गाउँपालिकामा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाहरूले प्रदान गरिरहेका सेवाको गुणस्तर मूल्याङ्कन तथा सुधारका लागि पालिका स्तरीय न्यूनतम सेवा मापदण्ड (एमएसएस) सम्बन्धी समीक्षा कार्यक्रम गरिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार आयोजित कार्यक्रममा गाउँपालिकाभित्रका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र तथा प्राथमिक स्वास्थ्य केन्द्रहरूले प्रदान गरिरहेका सेवाको अवस्थाबारे विस्तृत समीक्षा गरिएको हो ।
कार्यक्रममा स्वास्थ्य संस्थाहरूले उपलब्ध गराउँदै आएका सेवा, जनशक्ति व्यवस्थापन, औषधि तथा उपकरणको उपलब्धता, मातृ तथा शिशु स्वास्थ्य सेवा, खोप कार्यक्रम, अभिलेख व्यवस्थापन, सरसफाइ तथा स्वास्थ्य सेवाको पहुँच लगायतका सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो । मूल्याङ्कनका क्रममा प्रत्येक स्वास्थ्य संस्थाको उपलब्धि, चुनौती र सुधार गर्नुपर्ने पक्षबारे समेत छलफल गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
समीक्षामा प्रस्तुत तथ्याङ्कअनुसार गाउँपालिकाअन्तर्गत सञ्चालित आधारभूत स्वास्थ्य केन्द्र पुरैनाले ५० देखि ६९ प्रतिशत अंक प्राप्त गरेको छ । त्यसैगरी आधारभूत स्वास्थ्य केन्द्र खजुरा–४ र उढरापुर स्वास्थ्य चौकीले ७० देखि ८४ प्रतिशत अंक हासिल गरेका छन् । यी संस्थाहरूले स्वास्थ्य सेवा प्रवाहमा उल्लेखनीय प्रगति गरे पनि केही सूचकमा थप सुधार आवश्यक रहेको औँल्याइएको छ ।
यस्तै राधापुर स्वास्थ्य चौकी, सितापुर स्वास्थ्य चौकी, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र, सोनपुर स्वास्थ्य चौकी तथा रानियापुर स्वास्थ्य चौकीले ८५ देखि १०० प्रतिशतसम्म अंक प्राप्त गर्दै उत्कृष्ट श्रेणीमा स्थान बनाउन सफल भएका छन् । स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीका अनुसार उत्कृष्ट अंक प्राप्त गरेका संस्थाहरूले सेवा व्यवस्थापन, अभिलेख राख्ने प्रणाली, स्वास्थ्यकर्मीको सक्रियता तथा सेवाग्राहीमैत्री वातावरण निर्माणमा राम्रो कार्यसम्पादन गरेका छन् ।
कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले स्थानीय तहबाट प्रवाह हुने स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारसँग जोडिएको विषय भएकाले यसको गुणस्तरमा कुनै सम्झौता गर्न नहुने बताए । उनले स्वास्थ्य संस्थाहरूले न्यूनतम सेवा मापदण्ड पूरा गर्नुपर्नेमा जोड दिँदै आवश्यक जनशक्ति, भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापनका लागि गाउँपालिका सधैं सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष विकले स्वास्थ्य सेवाको गुणस्तर सुधारमा स्वास्थ्यकर्मीहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै सेवाग्राहीलाई सहज, प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सबै स्वास्थ्यकर्मीलाई जिम्मेवार बन्न आग्रह गरे । उनले स्वास्थ्य संस्थाहरूमा देखिएका समस्या तथा आवश्यकताहरू समयमै जानकारी गराए गाउँपालिकाले प्राथमिकताका साथ समाधानका लागि पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा सहभागी स्वास्थ्य कार्यालय बाँकेकी प्रमुख सुनिता पौडेलले न्यूनतम सेवा मापदण्ड स्वास्थ्य संस्थाको समग्र कार्यसम्पादन मापन गर्ने महत्वपूर्ण आधार भएको बताइन् । उनले नियमित समीक्षा र मूल्याङ्कनले स्वास्थ्य संस्थाहरूबीच सकारात्मक प्रतिस्पर्धा सिर्जना गर्नुका साथै सेवाको गुणस्तर सुधारमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।
समीक्षा कार्यक्रममा स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरूले आ–आफ्नो संस्थाको अवस्था, उपलब्धि तथा चुनौती प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आवश्यक रणनीति, स्वास्थ्य संस्थामा पूर्वाधार विकास, आवश्यक उपकरण व्यवस्थापन, औषधिको नियमित उपलब्धता तथा सेवाको गुणस्तर अभिवृद्धिका विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा खजुरा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनराम ओली, कार्यपालिका सदस्यहरू, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, पत्रकार तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । खजुरा गाउँपालिकाले स्वास्थ्य सेवाको गुणस्तर सुधार, सेवाको पहुँच विस्तार तथा नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नियमित रूपमा न्यूनतम सेवा मापदण्डको समीक्षा तथा मूल्याङ्कन गर्दै आएको जनाएको छ । समीक्षा कार्यक्रमले स्वास्थ्य संस्थाहरूको कार्यसम्पादनलाई थप प्रभावकारी बनाउनुका साथै भविष्यका लागि सुधारका क्षेत्र पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।