खजुरा : खजुरा गाउँपालिका वडा नम्बर ६ मा पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषणको समस्याबाट प्रभावित रहेको तथ्यांक सार्वजनिक भएको छ । अन्य वडाको तुलनामा वडा नम्बर ६ मा कुपोषित बालबालिकाको संख्या बढी देखिएपछि स्थानीय तह तथा स्वास्थ्य शाखाले यसलाई प्राथमिकतामा राखेर काम अघि बढाउने तयारी गरेको हो ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र, खजुरा–६ पुरैनाको आयोजना तथा बी ग्रुप पोषण परियोजनाको सहयोगमा सञ्चालन गरिएको “एकीकृत कुपोषण व्यवस्थापनका लागि घरपरिवारका सदस्यहरूसँग एकदिने अन्तरक्रिया तथा परामर्श कार्यक्रम” मा उक्त तथ्यांक सार्वजनिक गरिएको हो ।
कार्यक्रममा खजुरा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी ओली केसीले वडा नम्बर ६ मा पाँच वर्षमुनिका ७८ जना बालबालिका कुपोषित रहेको जानकारी दिँदै अन्य वडाको तुलनामा यो संख्या धेरै भएको बताइन् । उनले सोही वडामा ३१ जना गर्भवती महिला पनि कुपोषणको समस्यामा रहेको उल्लेख गरिन् । उनका अनुसार कुपोषणले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा दीर्घकालीन असर पार्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने बताइन् ।
“पछिल्लो समय वडा नम्बर ६ को अवस्था चिन्ताजनक देखिएको छ । त्यसैले पालिकाले यही वडालाई केन्द्रमा राखेर समस्या न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ,” उनले भनिन् । स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्यांक अनुसार खजुरा गाउँपालिकाभर हाल ९३ जना गर्भवती महिला तथा ४४७ जना पाँच वर्षमुनिका बालबालिका कुपोषणको अवस्थामा रहेका छन् । यी तथ्यांकले पोषणसम्बन्धी समस्या अझै चुनौतीका रूपमा रहेको देखाएको स्वास्थ्यकर्मीहरूले बताएका छन् ।
कार्यक्रममा सहभागी स्वास्थ्यकर्मीहरूले कुपोषणको प्रमुख कारणका रूपमा पोषणयुक्त खानाको अभाव, गर्भावस्थामा पर्याप्त स्याहार तथा पोषण नपुग्नु, सरसफाइमा कमी, बालबालिकालाई उमेरअनुसार आवश्यक आहार नखुवाउनु तथा परिवारमा पोषणसम्बन्धी चेतनाको कमीलाई औंल्याएका थिए । यसैबीच, वडा नम्बर ८ मा कुपोषण तथा स्वास्थ्य जटिलतासँग सम्बन्धित अवस्थामा एक आमाको मृत्यु भएको जानकारी स्वास्थ्य शाखा प्रमुख केसीले दिइन् ।
उक्त घटनाले मातृ तथा शिशु स्वास्थ्यप्रति थप गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याएको सहभागीहरूले बताएका थिए । कार्यक्रममा बी ग्रुप पोषण परियोजनाकी सुशीला गिरीले गर्भवती महिलाले दैनिक रूपमा आवश्यक पोषक तत्वयुक्त खाना कसरी सेवन गर्ने, सुत्केरी आमाले आफ्नो स्वास्थ्य कसरी जोगाउने तथा बालबालिकालाई उमेरअनुसार स्तनपान र थप पोषणयुक्त आहार कसरी खुवाउने भन्ने विषयमा विस्तृत जानकारी दिएकी थिइन् ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, गर्भवती महिला, सुत्केरी आमा तथा अभिभावकहरूको सहभागिता रहेको थियो । सहभागीहरूले पोषणसम्बन्धी जानकारीलाई व्यवहारमा लागू गर्दै कुपोषण न्यूनीकरणमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
खजुरा गाउँपालिकाले कुपोषणको समस्या न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण, पोषण परामर्श, समुदायस्तरीय सचेतना कार्यक्रम तथा जोखिममा रहेका गर्भवती महिला र बालबालिकाको निगरानीलाई थप प्रभावकारी बनाउने जनाएको छ । स्थानीय तह, स्वास्थ्य संस्था तथा विकास साझेदार संस्थाहरूको समन्वयमा कुपोषणमुक्त खजुरा निर्माण गर्ने लक्ष्यका साथ कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।