बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले बुधबार किसानलाई दुध बोक्ने क्यान वितरण गरेको छ । गाउँपालिकाले किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत पूर्ण अनुदानमा करिव ४ सय थान क्यान वितरण गरेको हो ।
गाउँपालिका कार्यालयमा बुधबार औपचारिक कार्यक्रमका बीच उपस्थित भएका किसानलाई क्यान वितरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिका संयोजक फरिदुद्धिन हलवाई लगायतले किसानलाई क्यान हस्तान्तरण गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले किसानलाई दुध बिक्री गर्न सहज होस् भन्ने उद्धेश्यले पूर्ण अनुदानमा क्यान वितरण गरिएको बताए । ‘२०७९ सालमा दोस्रो कार्यकालका लागि हामी निर्वाचित भएपछि किसानको मुद्दा उठाउनुपर्छ, किसानलाई जिविकोपार्जन र स्वरोजगारसँग जोड्न सकियो भने आर्थिक क्रान्ति गर्न सकिन्छ भनेर किसानसँग पालिका प्रमुख कार्यक्रम ल्याएका हौं, सोही कार्यक्रमबाट किसानलाई ७० प्रतिशत र पूर्ण अनुदानमा विभिन्न सामाग्री वितरण गर्दै आएका छौं,’ अध्यक्ष शाहीले भने ।

गाउँपालिकाले वार्षिक रुपमा ५ देखी ७ करोड रुपैयाँ बजेट कृषी क्षेत्रमा विनियोजन गर्दै आएको उनले बताए । स्थानीय सरकारले वितरण गरेको अनुदानको संरक्षण र सदुपयोग गर्न अध्यक्ष शाहीले किसानहरुलाई आग्रह गरे ।यस्तै गाउँपालिकाका कार्यपालिका सदस्य एवम् आर्थिक विकास समितिका संयोजक हलवाईले स्थानीय बैजनाथको स्थानीय सरकारले किसानलाई केन्द्रमा राखेर कार्यक्रम गरिरहेको बताए ।
देशभर रहेका ७ सय ५३ स्थानीय तह मध्ये बैजनाथले मात्र किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेर अनुदानका कार्यक्रम गरिरहेको दाबी गरे । किसान आफैले पनि गाउँपालिकाले गरेका यस्ता राम्रा कामको प्रचार गर्नुपर्ने उनको सुझाव छ ।
गाउँपालिकाको पशु शाखा प्रमुख बालकृष्ण चौधरीका अनुसार सार्वजनिक सूचना निकालेपछि किसानको प्राप्त आवेदनका आधारमा प्रक्रियागत रुपले किसानलाई दुध बोक्ने क्यान पूर्ण अनुदानमा वितरण गरिएको हो । फर्ममा रहेको दुहुना भैसी र गाईको संख्याका आधारमा किसानहरुलाई क्यानहरु दिइएको उनले बताए ।