बाँके(खजुरा) : खजुरा गाउँपालिका वडा नम्बर २ र ३ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा कुल ४ सय १५ जना लाभाम्वित भएका छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा असार १ गते खजुरा–२ स्थित सितापुर स्वास्थ्य चौकी र असार २ गते खजुरा–३ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा शिविर सञ्चालन गरिएको हो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार सितापुर स्वास्थ्य चौकीमा सञ्चालित शिविरमा कुल २ सय ३५ जना र प्राथमिक स्वास्थ्य केन्द्र खजुरामा १ सय ८० जना लाभाम्वित भएका हुन् । सितापुर स्वास्थ्य चौकीमा आयोजित शिबिरबाट लाभाम्वित भएका २ कुल ३५ जना सेवाग्राही मध्ये १ सय ६९ जना महिला तथा ५६ जना पुरुष रहेका छन् ।
शिविरमा स्त्री रोग विशेषज्ञ डा. कल्पना थापाले ९३ जनाको स्वास्थ्य जाँच गरेकी थिइन् । सो क्रममा ९ जनामा शंकास्पद क्यान्सर पोजेटिभ देखिएकाले थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरिएको छ । त्यसैगरी १ जना महिलाको आङ खसेको भेटिएकाले थप परीक्षण उपचार अप्रेसनका लागि रेफर गरिएको छ ।
यस्तै नसर्ने रोग सम्बन्धी स्क्रिनिङ गरिएकोमा ल्याब सेवा अन्तर्गत १ सय ६७ जनाको परीक्षण गरिएकोमा ३० जनामा आरबिएस उच्च तथा २२ जनामा युरिन प्रोटिन उच्च देखिएको छ । वरिष्ठ फिजिसियन डा. खगेन्द्रजंग शाहले १ सय जनाको स्वास्थ्य जाँच गरेका थिए । शिविरमा मेडिकल अफिसर डा. अनिस रुचालले समेत सेवा दिएका थिए । शिविरमा छाला रोग विशेषज्ञ डा. आर.के. झा, भिजन आँखा अस्पतालको टिमले पनि सेवा दिएको थियो ।
गाउँपालिकाको सामाजिक विकास समितिका संयोजक कृष्णा पोखरेलको अध्यक्षतामा आयोजित निःशुल्क स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा प्रमुख अतिथी एवम् गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मञ्जु मल्ल, वडा नम्बर २ का वडाअध्यक्ष धनिराम ओली, अन्य जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, स्वास्थ्यकर्मीहरु लगायतको उपस्थिती रहेको थियो ।
यस्तै प्राथमिक स्वास्थ्य केन्द्र खजुराको शिविरमा लाभाम्वित भएका १ सय ८० जना सेवाग्राही मध्ये १ सय ३४ जना महिला तथा ४६ जना पुरुष रहेका छन् । शिविरमा स्त्रीरोग विशेषज्ञ डा. कल्पना थापाले ५८ जनाको स्वास्थ्य जाँच गरेकी थिइन् । सो क्रममा ८ जनामा शंकास्पद क्यान्सर पोजेटिभ देखिएकोमा थप उपचारका लागि भेरी अस्पतालमा रेफर गरिएको छ ।
शिविरमा प्रमुख कन्सल्टेन्ट वरिष्ठ फिजिसियन डा. राजन पाण्डे, मेडिकल अफिसर डा. अनिस रुचाल, भिजन आँखा अस्पतालको टिम लगायतले स्वास्थ्य जाँच गरेका थिए । शिविरको अध्यक्षता सामाजिक विकास समितिका संयोजक कृष्णा पोखरेलले गरेकी थिइन् । शिविरमाा वडा नम्बर ३ र ४ का वडाअध्यक्षहरु, अन्य जनप्रतिनिधि, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।