बाँके (नरैनापुर) : नरैनापुर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४९ करोड रुपैयाँ बढीको बजेट ल्याएको छ । गाउँपालिकामा शुक्रबार प्रस्तुत भएको बजेट, नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको छ । आगामी वर्षका लागि बजेट ल्याउनेमा नरैनापुर बाँके जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।
गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहको सभाध्यक्षतामा सम्पन्न भएको गाउँसभाको २० औँ अधिवेशनले आर्थिक विधेयक तथा विनियोजन विधेयक २०८३ सर्वसम्मत रूपमा पारित गर्दै आगामी वर्षको विकास तथा सेवा प्रवाहको मार्गचित्र तय गरेको हो ।
गाउँसभामा अध्यक्ष शाहले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए, भने उपाध्यक्ष जयन्तीदेवी श्रीवास्तवले ४९ करोड २ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेश गरेकी थिइन् । छलफल पश्चात गाउँसभाले नीति, कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयक सर्वसम्मत रूपमा अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।
पारित भएको नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, रोजगारी सिर्जना तथा सामाजिक विकासलाई उच्च प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले विशेष गरी दलित, मुस्लिम, मधेसी, थारु लगायतका समुदायको आर्थिक, सामाजिक तथा शैक्षिक सशक्तीकरणका लागि लक्षित कार्यक्रम समेटेको जनाएको छ ।
गाउँपालिका अध्यक्ष शाहले सीमित स्रोत साधनका बीच पनि नागरिकको जीवनस्तर उकास्ने, आधारभूत सेवामा पहुँच विस्तार गर्ने तथा समावेशी विकासलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ बजेट तथा कार्यक्रम निर्माण गरिएको बताए । आगामी वर्ष विकास निर्माणसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई थप प्रभावकारी बनाउने उनले प्रतिबद्धता ब्यक्त गरे ।
गाउँसभामा वडा नम्बर १ का वडाअध्यक्ष इसाक जोलाहा, वडा नम्बर २ का वडाअध्यक्ष मसुद अहमद शाह, वडा नम्बर ४ का वडाअध्यक्ष मनोज शर्मा, वडा नम्बर ५ का वडाअध्यक्ष कृष्णचन्द्र मौर्य, वडा नम्बर ६ का वडाअध्यक्ष प्रेमचन्द्र मौर्य लगायतले नीति तथा बजेटमाथि आफ्नो धारणा राखेका थिए । समयमै बजेट ल्याउनु सकारात्मक कदम भएको उनीहरुको भनाई छ । उनीहरूले पारित कार्यक्रम प्रभावकारी कार्यान्वयनमा जोड पनि दिए ।
प्रमुख प्रशासकीय अधिकृत ओलीले आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएसँगै गाउँसभाको २० औँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए । उनले पारित नीति तथा कार्यक्रमलाई परिणाममुखी ढंगले कार्यान्वयन गर्न सम्पूर्ण कर्मचारी संयन्त्र प्रतिबद्ध रहेको बताए ।
गाउँपालिकाका लेखा अधिकृत प्रकाश अधिकारीका अनुसार नरैनापुर गाउँपालिका बाँके जिल्लामै आगामी आर्थिक वर्षको बजेट स्वीकृत गर्ने पहिलो स्थानीय तह बनेको छ । समयमै बजेट पारित हुनु सुशासन, वित्तीय अनुशासन, योजना कार्यान्वयनको प्रभावकारिता तथा विकासप्रतिको संस्थागत प्रतिबद्धताको महत्वपूर्ण संकेत भएको बताए ।
स्थानीय तहहरूले असार १० गतेभित्र बजेट प्रस्तुत गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार नरैनापुरले समयभन्दा अगावै बजेट पारित गरेर उदाहरणीय अभ्यास प्रस्तुत गरेको सरोकारवालाहरूको भनाइ छ । सभामा सभासद एवम् कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, विषयगत शाखा प्रमुख, सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, स्थानीयवासी लगायतको सहभागिता रहेको थियो ।