नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकामा आयोजित वृहत स्वास्थ्य शिविरबाट २ हजार ३ सय ७८ जनालाई विशेषज्ञ सेवा प्रदान गरिएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा खजुराको ४ वटा वडाको प्रमुख स्वास्थ्य संस्थाहरूमा वृहत स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
आर्थिक वर्ष २०८२ र ०८३ को स्वीकृत कार्यक्रम अनुसार सितापुर स्वास्थ्य चौकी, खजुरा प्राथमिक स्वास्थ्य केन्द्र, उढरापुर स्वास्थ्य चौकी र सोनपुर स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिएको थियो । शिविरहरूमा सर्वसाधारणले विभिन्न विधामा गरी कुल २ हजार ३ सय ७८ जनालाई विशेषज्ञ सेवा (विरामी चेकजाँच, ल्याव सेवा र निःशुल्क औषधि) प्राप्त गरेका छन ।
जसमा ९ सय ४५ जना सेवाग्राहीहरूले प्रत्यक्ष रूपमा ओपिडी र अन्य विशेषज्ञ सेवा लिएका थिए । विधागत सेवा लिनेको विवरणमा जनरल फिजिसियन तर्फ ५०४ जना, स्त्रीरोग विशेषज्ञ सेवामा २१७ जना, छालारोग सेवामा १०१ जना, हड्डी रोग सेवा ११० जना, ल्याब सेवा ७३१ जना, आँखा जाँच ६६० जनाले सेवा लिएका थिए । शिविरमा सेवा लिनेहरूमध्ये महिलाहरूको संख्या अधिक रहेको स्वास्थ्य शाखाको तथ्याङ्कले देखाएको छ ।
यसैबीच, शिविरको प्रभावकारिता र सेवा प्रवाहबारे खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर बिक, उपाध्यक्ष मन्जु मल्ल र प्रमुख प्रशासकीय अधिकृत दिल बहादुर पौडेल लगायत स्थानीय पत्रकारहरूको टोलीले स्थलगत अनुगमन तथा निरीषण समेत गरेको छ ।
अनुगमनका क्रममा जनप्रतिनिधिहरूले गाउँमै विशेषज्ञ डाक्टर सहितको सेवा पाउँदा स्थानीय नागरिकलाई ठुलो राहत मिलेको बताए । वृहत शिविरबाट विशेष गरी आर्थिक रूपमा विपन्न, वृद्धवृद्धा, महिला र बजारका ठूला अस्पतालसम्म पुग्न नसक्नेहरू प्रत्यक्ष रूपमा लाभान्वित भएको स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीले बताइन् ।
गाउँघरमै विशेषज्ञ डाक्टर, ल्याब परीक्षण र निःशुल्क औषधि उपलब्ध हुँदा स्थानीय नागरिकले खुसी जनाए । शिविरका कारण धेरै नागरिकले आफ्नो लुकेर रहेको पुराना तथा जटिल रोगहरूको पहिचान गरी थप उपचारको सल्लह समेत पाएका थिए । एकै थलोबाट बहुविधाको सेवा प्रवाह भएकाले सामान्य जाँचका लागि पनि नेपालगन्ज वा अन्य स्थानमा कुद्नुपर्ने बाध्यता हटेको स्थानीयबासीले बताए ।