नेपालगन्ज : बाँकेको बैजनाथ गाउँपालिकाले ठुलो संख्याका किसानलाई मिनी टिलर वितरण गरेको छ । गाउँपालिकाको किसानसँग पालिका प्रमुख कार्यक्रम मार्फत ७० प्रतिशत अनुदानमा सोमबार मिनी टिलर वितरण गरिएको हो । चालु आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत गाउँपालिकाले कुल २ सय ३ जना किसानलाई मिनी टिलर वितरण गरेको छ ।
गाउँपालिका कार्यालयमा सोमबार आयोजित औपचारिक कार्यक्रमका बीच अध्यक्ष प्रकाशबहादुर शाही र आर्थिक विकास समितिका संयोजक एवम् कार्यपालिका सदस्य फरिदुद्धिन हलवाईले किसानलाई मिनी टिलर हस्तान्तरण गरे । पहिलो दिन सोमबार बैजनाथ–१ र २ का ३३ जना किसानले मिनी टिलर लगेका छन् । अन्य वडाका किसानलाई पनि पालैपालो बोलाएर वितरण गर्ने गाउँपालिकाको तयारी छ ।

मिनी टिलर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शाहीले बैजनाथको आर्थिक समृद्धिका लागि किसानसँग पालिका प्रमुख कार्यक्रम सञ्चालन गरेर किसानलाई प्रविधिसँग जोड्ने काम गरिएको बताए । ‘दोस्रो कार्यकालका लागि निर्वाचित हुदै गर्दा हामी बैजनाथका ८ वटै वडामा पुग्दा ७० प्रतिशत किसानहरु कृषी र पशु पालनमा लागेको देखेका थियौं, त्यसकारण आर्थिक समृद्धिका लागि किसानसँग पालिका प्रमुख कार्यक्रम लागु गरेर विगत ४ वर्षदेखी निरन्तर रुपले काम गर्दै आएका छौं,’ उनले भने ।
किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत मिनी टिलर वितरणमा कतिपय किसानहरु कागजी प्रक्रियाले छुट्न गएपनि आगामी वर्ष २०८३/०८४ को बजेटमा समेट्ने प्रतिवद्धता जनाए । मिनी टिलरसहित कृषी यान्त्रीकरणले किसानमा जिविकोपार्जन र स्वरोजगार सिर्जना होस् भन्नेमा स्थानीय सरकारको अपेक्षा रहेको अध्यक्ष शाहीको भनाई छ । स्थानीय सरकारले अनुदानमा दिएका सामानको सही तरिकाले सदुपयोग गर्न उनले सुझाव दिए ।

मिनी टिलर वितरण कार्यक्रमको सञ्चालन गाउँपालिकाको कृषी शाखा प्रमख प्रमोदकुमार विश्वकर्माले गरेका थिए । सो क्रममा शाखाका नायव प्राविधिक सहायकद्धय सचिन मेघनाथ र अन्जु सिंह ठकुरीका अनुसार किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत ७० प्रतिशत अनुदानमा मिनी टिलर वितरण गर्नका लागि गाउँपालिकाले वडा नम्बर १ देखी ८ सम्मका किसानलाई सूचनामार्फत आवेदन मागेको थियो । त्यसक्रममा २ सय ६४ जनाले फाराम भर्दा ५ सय ६६ वटा मिनी टिलर माग भएको थियो ।
सबै प्रक्रिया पुरा गरेर गाउँपालिकाले यसवर्ष २ सय ३ जना किसानको नाम टुंगो लगाएको हो । किसानले एउटा मिनी टिलरका लागि कुल रकमको ३० प्रतिशत अर्थात् २६ हजार ४ सय रुपैयाँ मात्र रकम बुझाउनु परेको छ । गाउँपालिकाले हरेक वर्ष किसानसँग पालिका प्रमुख कार्यक्रमका लागि ५ देखी ७ करोड रुपैयाँ विनियोजन गर्दै आएको छ ।


