नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि पौने २ अर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख प्रशान्त बिष्टले बुधबार आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि उपमहानगरपालिकाले १ अर्ब ७६ करोड ६४ लाख ८३ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले बुधबार नगर सभाको १९ औं अधिवेशन गरेको थियो ।
नगर प्रमुख बिष्टका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त भएको सशर्त, समपूरक र विशेष अनुदान गरी ७६ करोड ४८ लाख ५० हजार सहितको बजेट प्रस्तुत गरिएको छ । यस्तै बजेटमा आन्तरिक आयतर्फ २५ करोड अनुमान गरिएको छ । घरजग्गा रजिष्ट्रेशनतर्फ १४ करोड रुपैयाँ राजश्व प्राप्त हुने अनुमान गरिएको छ ।
यसैगरी चालूतर्फ ४२ करोड २५ लाख ५० हजार, वडा कार्यालयलाई २१ करोड, नगर स्तरीय तथा प्रबद्र्धनात्मकतर्फ १९ करोड ९० लाख, विषयगत शाखालाई ८ करोड ७६ लाख बजेट विनियोजन गरिएको नगर प्रमुख बिष्टले बताए ।
सभामा नगर प्रमुख बिष्टले नै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।
नीति तथा कार्यक्रममा भौतिक पुर्वाधार, आवास, भवन तथा बस्ती विकास, यातायात, विद्युुत तथा स्वच्छ उर्जा, वन, वातावरण संरक्षण, फोहोरमैला तथा ढल व्यवस्थापन, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तन, सुशासन तथा सेवा प्रवाह, राजश्व तथा स्रोत परिचालन, तथ्यांक, योजना र विकास व्यवस्थापन, कृषि तथा पशुपंक्षी, उद्योग, व्यापार तथा व्यवसाय, पर्यटन, भूमी व्यवस्था तथा सहकारी, श्रम, रोजगार तथा गरिवी निवारण, स्वास्थ्य तथा पोषण, आयुर्वेद तथा खानेपानी, शिक्षा, महिला, बालबालिका तथा सामाजिक समावेशीकरण लगायत विषयलाई समेटिएको छ ।