बाँके (अगैया) : राप्ती सोनारी गाउँपालिकाले ९२ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँसभाको १९औं अधिवेशनमा बुधबार उपाध्यक्ष मनिषा सिंह थारुले आगामी आर्थिक बर्ष २०८३/८४ का लागि ९२ करोड ४२ लाख ३९ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरिन् ।
गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलको सभाध्यक्षतामा आयोजित उक्त सभामा प्रस्तुत बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगार, पूर्वाधार विकास तथा सामाजिक समावेशीकरणलाई उच्च प्राथमिकतामा राखिएको छ । प्रस्तुत बजेटमध्ये चालूतर्फ ६१ करोड ६७ लाख ४२ हजार रुपैयाँ र पूँजीगततर्फ ३० करोड ७४ लाख ९७ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
बजेट कार्यान्वयनका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदान, राजस्व बाँडफाँड र आन्तरिक स्रोतलाई आधार बनाइएकोे छ । विषयगत शाखामध्ये शिक्षा क्षेत्रले सबैभन्दा ठूलो हिस्सा पाएको छ । शिक्षाका लागि ४० करोड ४४ लाख ८६ हजार रुपैयाँ विनियोजन गरिएको छ, जसबाट प्रविधिमैत्री, गुणस्तरीय, समावेशी तथा रोजगारमुखी शिक्षा प्रणाली विकास गर्ने लक्ष्य लिइएको छ । स्वास्थ्य क्षेत्रका लागि ११ करोड ३ लाख २२ हजार रुपैयाँ छुट्याइएको छ ।
कृषि तथा पशुपन्छी क्षेत्रलाई प्राथमिकता दिँदै २ करोड ९८ लाख ४० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसबाट कृषि आधुनिकीकरण, सिँचाइ विस्तार, उन्नत बीउबिजन प्रयोग, पशु स्वास्थ्य सेवा तथा महामारी नियन्त्रणका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।
यस्तै रोजगार प्रवद्र्धनका लागि १ करोड १ लाख ४४ हजार रुपैयाँ, वन, वातावरण, खानेपानी तथा विपद् व्यवस्थापनका लागि १ करोड २५ लाख रुपैयाँ, महिला, बालबालिका तथा समावेशीकरण कार्यक्रमका लागि ५० लाख रुपैयाँ बजेट छुट्याइएको छ ।
पूर्वाधार विकासलाई समेत प्राथमिकतामा राख्दै पूर्वाधार योजना तथा एकीकृत सेवा विकास कार्यक्रमका लागि ३ करोड रुपैयाँ, सूचना प्रविधि तथा डिजिटल पूर्वाधारका लागि ५० लाख रुपैयाँ, साझेदारी प्रवद्र्धन, सामाजिक विकास, स्वास्थ्य उपचार तथा मर्मत सम्भार कोषका लागि छुट्टा–छुट्टै बजेट विनियोजन गरिएको छ ।
उक्त सभामा सभाध्यक्ष पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । सभाध्यक्ष पौडेलको स्वास्थ्य समस्याका कारण नीति तथा कार्यक्रमको पूरा वाचन राप्ती सोनारी–७ का वडा अध्यक्ष एवम् विधायन समिति संयोजक रामलखन थारुले गरेका थिए ।
कुल ९ वटा वडा रहेको राप्ती सोनारीमा हरेक वडाहरुलाई समान ९५ लाख रुपैयाँका दरले विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत मनिराम खरालले जानकारी दिएका छन् । सभामा राप्ती सोनारी–६ का वडाअध्यक्ष लवराज खरेल, राप्ती सोनारी–७ का वडाअध्यक्ष राम लखन थारु र राप्ती सोनारी–९ का वडाअध्यक्ष सोहनलाल थारुले आफ्नो धारणा राखेको प्रमुख प्रशासकीय अधिकृत खरालले बताए ।