बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाले ८१ करोड बढी अनुमानित बजेट पेश गरेको छ । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि उपाध्यक्ष निर्मला रोकायले कुल ८१ करोड ७१ लाख ४० हजार रुपैयाँ बजेट पेश गरेकी हुन् ।
गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा राष्ट्रिय गान र बैजनाथ गानसँगै सुरु भएको २० औं गाउँ सभाको दोस्रो बैठकमा बुधबार उपाध्यक्ष रोकायले संघिय समानीकरणतर्फबाट १५ करोड ६७ लाख, प्रदेश सरकार समानीकरणबाट १ करोड ८ लाख ७३ हजार, संघिय सरकार सर्शत चालु रकम ३० करोड ५५ लाख, संघिय सरकार सर्शत पूँजीगत रकम ७ करोड १७ लाख, प्रदेश सरकार सर्शत चालु रकम १० लाख, प्रदेश सरकार सर्शत पुँजीगत रकम ८० लाख रुपैयाँको अनुमानित बजेट पेश गरिन् ।

यस्तै संघिय सरकार विशेष अनुदान रकम २ करोड ४३ लाख, प्रदेश सरकार विशेष अनुदान रकम २० लाख, संघिय सरकार समपूरक अनुदान ३० लाख, प्रदेश सरकार समपूरक अनुदान ७५ लाख, संघिय सरकार राजश्व रकम १४ करोड २४ लाख ४० हजार, प्रदेश सरकार राजश्व रकम १ करोड ४१ लाख २७ हजार, आन्तरिक आय ५ करोड र जग्गा रजिष्ट्रेसन वापत मालपोत कार्यालयबाट प्राप्त हुने रकम करिव २ करोड अनुमानित बजेट पेश गरिन् ।
गाउँपालिकाले शिक्षा, स्वास्थ्य, लैंगिक समानता तथा सामाजिक समावेशीकरण, युवा तथा खेलकुद, आर्थिक तथा कृषी विकास, पर्यटन घरेलु उद्योग तथा सहकारी, श्रम तथा रोजगार, भौतिक पुर्वाधार, वन वातावरण तथा विपद ब्यवस्थापन, भूमिहिन सुकुम्वासी तथा अब्यवस्थित बसोबासी र कानून तथा न्याय, सार्वजनिक सेवा प्रवाह, सुशासन तथा संस्थागत विकासमा आवश्यक बजेट विनियोजन गरेको उपाध्यक्ष रोकायले बताइन् ।
सभामा प्रस्तुत गरिएको बजेट उपर थप छलफलका लागि सभाध्यक्ष शाहीले सभाको तेस्रो बैठक यही असार ३१ गते दिउँसो २ बजेका लागि पुनः बोलाएको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिएका छन् ।