बाँके (खजुरा) : डेंगु, जापानिज इन्सेफलाइटिस लगायतका किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी खजुरामा सचेतना जगाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले आइतबार सचेतनामूलक कार्यक्रम गरेको हो । बर्खायाम सुरु भएसँगै लामखुट्टेमार्फत फैलिन सक्ने डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु फैलिने खतरा बढेकाले कार्यक्रम गरिएको हो ।
डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु सम्बन्धी सरोकारवालासँग गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.क. ‘तुफान’ ले बर्खायाम सुरु भएसँगै लामखुट्टेबाट सर्न सक्ने रोगबारे सबै सचेत रहनुपर्ने बताए ।
‘यि सबै रोगहरुको बारेमा हामीलाई जानकारी भएको छ, यि रोगको न्यूनिकरण गर्नतिर तपाई सबै जना लाग्नुहुनेछ,’ उनले भने, ‘यो समस्याबारे जनतालाई जनचेतना प्रदान गर्नुहुनेछ ।’ डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु न्यूनिकरण गर्न आवश्यक पहल गर्नुपर्ने अध्यक्ष बि.क.को भनाई छ ।
सो क्रममा स्वास्थ्य कार्यालय बाँकेका रत्नलाल शर्माले डेंगु, जापानिज इन्सेफलाइटिस, कालाजार, स्क्रप टाइफस लगायत रोगबारे प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, विभिन्न वडाका वडाअध्यक्ष तथा कार्यपालिका सदस्य, स्वास्थ्य शाखाका कर्मचारी, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार अभिमुखीकरण कार्यक्रम गर्नुअघि बिहान र्यालीसहित स्थानीयका घर-घरमा पुगेर लामखुट्टेको बासस्थान खोजी गरी लार्भा नष्ट गर्न सचेतना फैलाइएको थियो ।
र्याली पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै खजुरा गाउँपालिका–२ का वडाअध्यक्ष धनीराम ओलीले प्लाष्टिकका भाडाहरु यत्रतत्र फालिँदा बर्खाको समयमा पानी जम्मा हुने र त्यसमा लामखुट्टेका लार्भाको विकास हुने भएकाले सजग रहन आग्रह गरे ।
‘सानो लापरबाहीले गर्दा ज्यान जोखिममा हुने र मृत्युवरण समेत हुने अवस्था आउँछ,’ उनले भने । उक्त र्यालीमा प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर पौडेल, स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसी, अन्य कर्मचारी, महिला स्वास्थ्य स्वयं सेविका, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।