नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले गर्भवती र स्तनपान गराईरहेका(सुत्केरी) महिलालाई पौष्टिक आहारा सहितको ‘पोषण प्याकेज’ वितरण कार्य सुरु गरेको छ । सन्तुलित आहारको कमी हुँदा गाउँपालिकाभित्र रहेका बालबालिका र गर्भवती महिलामा केही समयअघि कुपोषण अत्यधिक मात्रामा देखिएको थियो ।
गाउँपालिकाले गरेको दोस्रो चरणको पोषण लेखाजोखाबाट साना बालबालिका तथा गर्भवती महिलामामा कुपोषण पहिचान भएको थियो । गाउँपालिकाले आफ्नो ८ वटै वडाका १ सय १६ जना गर्भवती र स्तनपान गराईरहेका महिलालाई पौष्टिक आहारा सहितको पोषण प्याकेज वितरण गरेको हो । गाउँपालिकाले झोलासहित खिर, दलिया, लिटो लगायतका पौष्टिक आहाराजन्य पोषण प्याकेज प्रदान गरेको छ ।
पोषण प्याकेज हस्तान्तरण गर्दै प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बिक ‘तुफान’ ले गर्भवती र स्तनपान गराईरहेका आमाका लागि पौष्टिक आहार अति आवश्यक रहेको बताए । ‘आमाले पौष्टिक आहार खानुपर्छ, आमाले खाएपछि बच्चा र आमाको स्वास्थ्य राम्रो हुन्छ,’ उनले भने । गर्भवती र स्तनपान गराईरहेका आमाले आफ्नो स्वास्थ्यका लागि घरमा साग सब्जी, दही, दुध खान आवश्यक रहेको अध्यक्ष बिकले बताए ।
यस्तै विशिष्ट अतिथी एवम् गाउँपालिका उपाध्यक्ष मञ्जु मल्लले गर्भवती र सुत्केरी अवस्थामा महिलाको स्वास्थ्य अवस्था कमजोर हुने भएकाले पोषिलो खानेकुरा खान आवश्यक रहेको बताइन् । पोषणयुक्त खानेकुरा नखादाँ आमा र बच्चा कुपोषित हुने खतरा रहेको उनको भनाई छ ।
गाउँपालिका स्वास्थ्य शाखा प्रमुख लक्ष्मी केसीका अनुसार ८ वटै वडाका स्थानीय स्वास्थ्य संस्थामा गर्भवती र स्तनपान गराईरहेका महिलालाई पोषण प्याकेज वितरण कार्य थालिएको छ । ‘कुपोषण देखा परेपछि स्थानीय सरकार चिन्तित भएर पौष्टिक आहारा खुवाउन पोषण प्याकेज वितरणको काम गरिएको हो,’ उनले भनिन् । गाउँपालिकाभरी १ सय १६ जना महिलालाई पौष्टिक आहारा खुवाउन पोषण प्याकेज वितरण कार्य थालिएको स्वास्थ्य शाखा प्रमुख केसीको भनाई छ ।
पोषण प्याकेज वितरणसँगै पोषणबारे स्वास्थ्य सचेतना कार्यक्रम पनि पनि गरिएको जानकारी दिइन् । गाउँपालिका अध्यक्ष बिक, उपाध्यक्ष मल्ल, स्वास्थ्य शाखा प्रमुख केसी सहितले बुधबार खजुरा-६ मा रहेको उढरापुर स्वास्थ्य चौकी र खजुरा-७ स्थित सोनपुर स्वास्थ्य चौकीमा पुगेर पोषण प्याकेज हस्तान्तरण गरे ।
सो क्रममा वडा नम्बर ६ का वडाअध्यक्ष गरिवे शेख र वडा नम्बर ७ का वडाअध्यक्ष रामगोपाल यादव, गाउँपालिका तथा स्वास्थ्य शाखाका कर्मचारी, स्वास्थ्य चौकी ईन्चार्ज, अन्य स्वास्थ्यकर्मी लगायतको उपस्थिती रहेको थियो ।