बाँके(अगैया) : लामो समयदेखि विवाद र अन्योलमा रहेको राप्ती सोनारी गाउँपालिकाको स्थायी प्रशासनिक भवन निर्माण प्रक्रियाले नयाँ मोड लिएको छ । गाउँपालिकाको शनिबार सम्पन्न गाउँसभा तथा १९ औँ अधिवेशनले वडा नम्बर २ स्थित मदुवामा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउने प्रस्तावलाई बहुमतले पारित गरेको छ । प्रशासनिक भवन कहाँ निर्माण गर्ने भन्ने विषयमा वर्षौदेखि जनप्रतिनिधि र गाउँपालिकाबासीबीच मतभेद छ । यस विषयमा गाउँसभामा पनि पक्ष र विपक्षमा व्यापक छलफल भएको थियो ।
गाउँ सभाले मदुवामा प्रशासनिक भवन बनाउने प्रस्तावलाई बहुमतले पारित गरेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए । ‘प्रशासनिक भवन कहाँ बनाउने भन्ने अन्यौललाई गाउँ सभाले बहुमतले पारित गरेको छ,’ उनले भने । मदुवामा प्रशासनिक भवन निर्माण प्रक्रिया अघि बढाउनुपर्ने पक्षमा २५ जना र हाल सञ्चालनमा रहेको अगैयामा कार्यालय कायम राख्नुपर्ने पक्षमा १६ जना प्रतिनिधिले समर्थन जनाएका छन् । गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ४ का वडाअध्यक्ष मिनराज खड्काका अनुसार उक्त प्रस्ताव प्रशासनिक भवन निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि मात्र पारित गरिएको हो ।
‘गाउँसभाले भवन निर्माण प्रक्रिया सुरु गर्ने प्रस्ताव पारित गरेको हो, अन्तिम रूपमा भवन यही स्थानमा बन्ने निर्णय भएको होइन, संघीय सरकारले पनि भौगोलिक अवस्था, जनसंख्या, पहुँच र आवश्यक मापदण्डका आधारमा अध्ययन गरेर अन्तिम निर्णय गर्नेछ, त्यसैले अहिले नै मदुवा स्थायी केन्द्र निश्चित भइसक्यो भन्न मिल्दैन,’ उनले भने । गाउँ सभामा ४९ जना सदस्यमध्ये ४१ जनाको उपस्थिती थियो । उपस्थित सदस्यहरूमध्ये २५ जनाले मदुवाको पक्षमा र १६ जनाले अगैयामै प्रशासनिक भवन कायम राख्नुपर्ने पक्षमा मत राखेका थिए । राप्ती सोनारी-१ का वडाअध्यक्ष यमबहादुर खड्काले भने प्रशासनिक भवनको स्थान निर्धारणजस्तो महत्वपूर्ण विषयमा दुईतिहाइ बहुमत आवश्यक पर्ने जिकिर गरेका छन् ।
‘कानूनी व्यवस्था अनुसार यस्तो विषयमा दुईतिहाइ समर्थन हुनुपर्छ, कुल सदस्य संख्याका आधारमा र उपस्थित सदस्य संख्याको आधारमा दुईतिहाइ पुगेको छैन, त्यसैले बहुमतका आधारमा मात्र प्रस्ताव पारित गरिएको हो,’ उनले भने । वडाअध्यक्ष खड्काले वडा नम्बर १ का अधिकांश गाउँ अझै मुख्य सडक सञ्जालसँग जोडिन नसकेको उल्लेख गर्दै सबै नागरिकलाई सहज पहुँच हुने भएकाले हाल कार्यालय सञ्चालन भइरहेको अगैया नै प्रशासनिक केन्द्रका लागि उपयुक्त स्थान रहेको तर्क गरे ।
राप्ती सोनारी गाउँपालिकाको प्रशासनिक केन्द्र कहाँ रहने भन्ने विषयमा विगतदेखि नै स्थानीय तहभित्र फरक-फरक धारणा रहँदै आएको छ । एक पक्षले गाउँपालिकाको भौगोलिक केन्द्र र सबै वडाका नागरिकलाई समान पहुँच हुने स्थानमा भवन निर्माण हुनुपर्ने माग गर्दै आएको छ, भने अर्को पक्षले हाल सञ्चालनमा रहेको स्थानमै प्रशासनिक केन्द्रलाई व्यवस्थित गर्नुपर्ने धारणा राख्दै आएको छ ।
गाउँपालिकाको कुल क्षेत्रफलमध्ये करिव ७९ दशमलव ८ प्रतिशत भू-भाग बाँके राष्ट्रिय निकुञ्जले ओगटेको छ । त्यसमाथि राप्ती नदीले समेत गाउँपालिकाको भूगोललाई विभाजित गर्ने भएकाले एक क्षेत्रबाट अर्को क्षेत्रमा पुग्न घण्टौं समय लाग्ने अवस्था रहेको छ । यही कारण सबै नागरिकलाई सहज पहुँच पुग्ने स्थानमा प्रशासनिक भवन निर्माण गर्नुपर्ने आवाज समय-समयमा उठ्दै आएको छ ।
हाल गाउँपालिकाको कार्यालय वडा नम्बर २ स्थित अगैयाबाट सञ्चालन हुँदै आएको छ ।
प्रशासनिक भवन निर्माणका लागि जग्गा र स्थान चयनको विवादका कारण लामो समयदेखि स्थायी भवन निर्माणको काम अघि बढ्न सकेको थिएन । यद्यपी, यसपटक गाउँसभाबाट बहुमतले प्रक्रिया अघि बढाउने निर्णय गरेसँगै प्रशासनिक भवन निर्माणको बहसले नयाँ मोड लिएको छ । हाल सञ्चालन भईरहेको अगैयामा प्रशासनिक भवन निर्माण गर्नुपर्ने विषयमा अडान राख्दै आएका वडा नम्बर ३ का वडाअध्यक्ष मिनकुमार चौधरीले दिर्घकालिन असर पुर्याउने विषयमा निर्णय गर्दा बहुमत भन्दापनि दुई तिहाई निर्णय हुनुपर्ने बताए । ‘दुई तिहाईबाट हुनुपर्नेमा बहुमतबाट निर्णय गरिएको छ, यो कानून सम्मत छैन,’ उनले भने ।