नेपालगन्ज : बाँके र दाङको बीच खण्डमा अधुरो रहेको हुलाकी सडक बन्ने निश्चित भएको छ । हुलाकी राजमार्ग निर्देशनालयले ३ अर्ब २० करोड रुपैयाँ बराबरको ठेक्का खोलेसँगै सडक बन्ने निश्चित भएको हो । हुलाकी सडक निर्देशनालयका अनुसार बाँकेको राप्ती सोनारी-३ नारायणपुरदेखी बाँके र दाङको सिमाक्षेत्र हाटबास गाउँसम्मको करिव ३६ किलोमिटर खण्ड निर्माण गर्न ठेक्का खुलिसकेको छ ।
हुलाकी सडक निर्देशनालय आयोजना कार्यालय नेपालगन्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार कार्यालयले २१ दिने सूचना प्रकाशन गरिसकेको र आगामी भदौं अन्तिम सम्म ठेक्का सम्झौता हुनेछ । उक्त खण्डमा पर्ने खोलामा ४ वटा ठुला पुल निर्माण गर्न पनि ५० करोड रुपैयाँको लागतमा ठेक्का खोलिएको भण्डारीले बताए ।
उनका अनुसार निर्देशनालयले बाँके र दाङको सिमाना हाटबास गाउँदेखी राजपुर गाउँपालिकाको गंगदीसम्म रहेको २२ किलोमिटर खण्ड निर्माण गर्न पनि अर्को ठेक्का खोल्ने तयारी गरिरहेको छ । भण्डारीले भने, ‘बहुवर्षिय अन्तर्गत एउटै ठेक्का खुलेको छ, ठेक्का खुलिसकेपछि अब अधुरो रहेको हुलाकी सडक बन्ने निश्चित भयो ।’
बाँकेको राप्ती सोनारी–३ नारायणपुरदेखी दाङको राजपुर गाउँपालिका सम्मको सडक बिस्तार सहितको काम आगामी तीन वर्षभित्र सम्पन्न गर्ने गरी केही महिनाअघि स्रोत सुनिश्चित गरिएको थियो । नेपालगन्ज हुदै बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ३ नारायणपुर र पुर्वबाट दाङ देउखुरीस्थित राजपुर गाउँपालिकाको गंगदीसम्म हुलाकी सडक निर्माण भएपनि बाँकी रहेको करिव ५८ किमी क्षेत्र अधुरो रहेको छ ।
अधुरो हुलाकी सडकका लागि ठेक्का खुलेसँगै स्थानीय जनजीवन, कृषि, व्यापार, शिक्षा, स्वास्थ्य तथा समग्र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको स्थानीय अगुवा एवम् नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति पोषण केसी बताउँछन् । हुलाकी सडक निर्माण सम्पन्न भएपछि लामो समयदेखि सहज सडक पहुँचको अभावमा कठिन जीवन बिताइरहेका राप्ती सोनारी-१ का हजारौं नागरिक प्रत्यक्ष रूपमा लाभान्वित हुने उनको विश्वास छ ।
केसीले भने, ‘महेन्द्र राजमार्गको विकल्पको रुपमा रहेको हुलाकी राजमार्ग निर्माण गर्ने प्रयास धेरै पहिलादेखी नै भएको थियो, तर विगतमा बजेट अभाव, राजनीतिक संक्रमणकाल, वन क्षेत्रको विवाद लगायत विविधि कारणले गर्दा काम रोकिएपनि अब भने सडक बन्ने निश्चित भएको छ, यो अत्यन्तै खुसीको कुरा हो ।’ ठेक्का खोल्न आफुले हुलाकी राजमार्ग निर्देशनालयमा दवाव सिर्जना गरेको उनले बताए । ‘बाँके र दाङको अधुरो खण्डमा यसपटक जसरी पनि ठेक्का खोल्नुपर्छ भनेर म आफै हुलाकी निर्देशनालयको कार्यालयमा पुगेर दवाव दिएको हुँ, अन्ततः ठेक्का खुल्यो, वर्तमान सरकार, हुलाकी सडक निर्देशनालय र आयोजना कार्यालयका कर्मचारी र यस विषयमा चासो र पहल गर्ने सबै बधाईको पात्र हुनु भएको छ,’ केसीले थपे ।
सडक निर्माण क्षेत्रमा केही समयअघि हुलाकी सडक आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीसहित, स्थानीय अगुवा, जनप्रतिनिधि, पत्रकार लगायतको टोलीले राप्ती सोनारी-१ भम्कादेखी राप्ती सोनारी-३ भवानीयापुरसम्म स्थलगत निरीक्षण गरेको थियो । राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्काले हुलाकी सडक निर्माण भएपछि उत्पादन भएका कृषी बस्तुहरु बजारसम्म पुर्याउने, बिरामीलाई सहज रुपमा आवत-जावत गराउने लगायत धेरै कुरामा सहजता आउने विश्वास गरे ।
‘राप्ती सोनारी-१ नम्बर वडालाई राप्ती नदीले दुई भागमा विभाजन गरेको छ, राप्ती नदीको दक्षिणतर्फ अहिलेसम्म बाटो छैन, हुलाकी राजमार्गको नामाकरणले अल्झिरहेको अवस्था छ,’ वडाअध्यक्ष खड्काले भने, ‘हुलाकी सडक निर्माण भएपछि जनतालाई ठुलो राहत मिल्नेछ ।’
राष्ट्रिय सडक सञ्जालसँग अहिलेसम्म नजोडिएका राप्तीपारीका स्थानीय बासिन्दाहरु हुलाकी सडक बन्ने आशाका साथ ब्यग्र प्रतिक्षामा बसेका छन् । सडक सञ्जालको पहुँच नहुँदा यहाँका नागरिकले राप्ती नदीमा हरेक वर्ष डुंगा र झोलुंगे पुलबाट वारपार गर्नुपर्छ । राप्तीपारी क्षेत्रमा भरपर्दो सडक निर्माण नहुँदा यहाँका स्थानीयहरु घण्टौं समय पैदल हिडेर गन्तब्यमा पुग्न बाध्य छन् ।