बाँके (बैजनाथ) : बैजनाथ गाउँपालिकाको २० औं गाउँसभा सर्बसम्मत रुपमा बजेट पारित गरेर बुधबार समापन भएको छ । गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीको सभाध्यक्षतामा बसेको गाउँसभाको तेस्रो बैठकले आर्थिक वर्ष २०८३/०८४ का लागि संशोधित ८७ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको बजेट सर्वसम्मत रुपले पारित गरेको हो ।
गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले गत असार १० गते सभाको दोस्रो बैठकमाा अनुमानित ८१ करोड ७१ लाख ४० हजार रुपैयाँ बराबरको बजेट पेश गरेकी दिइन् । उक्त बजेटमाथी लामो समयसम्म चलेको छलफल पश्चात संशोधनसहित सभाका सदस्यहरुले बुधबारको बैठकबाट सर्वसम्मत रुपमा पारित गरेको प्रमुख प्रशासकीय अधिकृत कमलराज उपाध्यायले जानकारी दिए ।गाउँपालिकाको २० औं गाउँसभा यही असार ९ गतेबाट सुरु भएको थियो । सभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत रुपले पारित भएको थियो ।
गाउँसभाको तेस्रो बैठकलाई बुधबार सम्बोधन गर्दै सभाअध्यक्ष शाहीले बैजनाथ स्थानीय सरकारमा दोस्रो कार्यकालका लागि आफुहरु निर्वाचित भएर आईसकेपछि जनता समक्ष गरेका अधिकांस बाचा र प्रतिबद्धताहरु पुरा गर्न सफल भएको बताए । बैजनाथमा आर्थिक क्रान्ति गर्नका लागि कृषी क्षेत्रलाई माथी उठाउने उद्देश्यले आर्थिक वर्ष २०७९/०८० बाट सुरु गरिएको किसानसँग पालिका प्रमुख कार्यक्रमबाट अधिकांस किसानहरुले ७० प्रतिशत र पूर्ण अनुदानमा कृषी यान्त्रीकरणसँगै थुप्रै कुराको लाभ लिएको बताए ।
‘हामीले किसानसँग पालिका प्रमुख कार्यक्रम सुरु गरेर यहाँका किसानका लागि जसरी काम गर्यौं, हाम्रो कार्यक्रमबाट प्रभावित भएर पछिल्लो समयमा अधिकांस स्थानीय तहले पनि किसान लक्षित कार्यक्रम गर्न थालेका छन्, यो नै हाम्रो सफलताको आधार हो,’ अध्यक्ष शाहीले भने । आफुहरु निर्वाचित भएर आईसकेपछि कृषीका साथै भौतिक पुर्वाधार, शिक्षा, स्वास्थ्य, लक्षित वर्ग, खेलकुद, पर्यटन लगायत क्षेत्रको विकासमा उल्लेखनीय काम गरेको उनले बताए । आफुहरु आईसकेपछि अधिकांस सडक कालोपत्रे, स्तरउन्नती, पुल, कल्भर्ट, सिंचाई, भवन लगायत पुर्वाधारहरु बनाएको अध्यक्ष शाहीले बताए । पितृ शोकमा परेका कारण उपाध्यक्ष निर्मला रोकाय गाउँसभाको तेस्रो बैठकमा बुधबार अनुपस्थित भएकी थिइन् ।

उक्त गाउँसभामा उत्कृष्ट बिद्यार्थी तथा बिद्यालयलाई नगदसहित सम्मान गरिएको छ । सामुदायिक तर्फबाट कक्षा ८ को परिक्षामा ४ जिपिए ल्याउन सफल समावेशी माध्यामिक बिद्यालय बैजनाथ–४ तिलकपुरका सागर खड्का तथा संस्थागत तर्फबाट दिपज्योती बिद्या निकेतन बैजनाथ–४ डिगियाका हिक्मत खत्री, हिमालय बिद्या निकेतन बैजनाथ–५ जिगाउँ की नेत्रा बिक र हिमालय बिद्या निकेतनकै वर्षा पौडेल जनही ६ हजार नगद तथा सम्मानपत्र सहित सम्मानित भएका हुन् ।
यस्तै कक्षा ८ अन्तर्गत सामुदायिक बिद्यालयतर्फ शत प्रतिशत बिद्यार्थी उर्तीण गराउन सफल भएकोमा रारा माध्यामिक बिद्यालय बैजनाथ–१ गाभर र संस्थागत तर्फबाट हिमालय बिद्या निकेतन बैजनाथ–५ जिगाउँ लाई सम्मान पत्रसहित नगद १० हजार रुपैयाँका दरले सम्मान गरिएको छ । यसैगरी कक्षा १० मा सामुदायिक तर्फबाट ३.७८ जिपिए ल्याउने बागेश्वरी माध्यामिक बिद्यालयकी उन्नती काफ्ले र संस्थागत तर्फबाट ३.९६ जिपिए ल्याउने हिमालय बिद्या निकेतनकी अदिती गिरीलाई सम्मान पत्रसहित जनही ८ हजार रुपैयाँसहित सम्मान गरियो ।
त्यस्तै सामुदायिक बिद्यालयतर्फ कक्षा १० मा शत प्रतिशत बिद्यार्थी उर्तीण गराउन सफल समावेशी माध्यामिक बिद्यालय बैजनाथ–४ तिलकपुर र संस्थागत बिद्यालयतर्फ हिमालय बिद्या निकेतनलाई सम्मान पत्रसहित नगद १५ हजार रुपैयाँका दरले सम्मान गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख बिष्णुप्रसाद ढकालले जानकारी दिएका छन् । राष्ट्रिय गान र ‘बैजनाथ गान’ गायर सुरु गरिएको गाउँसभाको तेस्रो बैठक अन्तिममा मौन धारणसहित समापन भएको थियो ।
