नेपालगन्ज : स्थलमार्गको यात्रा अहिले अत्यन्तै जोखिमपूर्ण छ । तरपनि, पोखरा जाने यात्रुहरु स्थलमार्गबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य भईरहेका छन् । पहिरोका कारण पटक–पटक सडक अवरुद्ध हुने गरेको छ । यही बेला नेपालगन्ज–पोखरा सिधा हवाई उडान बन्द भएको छ । जसका कारण नागरिकलाई यात्रा गर्न सास्ती भईरहेको छ ।
नेपालगन्ज–पोखराका लागि निजी बायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले २०७८ साउनदेखी केही समयसम्म दैनिक एउटा उडान र त्यसपछि हप्तामा ३ वटा उडान गर्दै आएको थियो । सरकारले हवाई इन्धनको मुल्य बृद्धि गरेसँगै भाडा बढेपछि पर्याप्त मात्रामा यात्रु नपाउँदा बुद्धले करिव महिनाअघि उडान बन्द गरेको थियो ।
बुद्ध एयरका नेपालगन्ज प्रमुख बिनित शाहका अनुसार पहिले नेपालगन्ज–पोखराको हवाई भाडा न्युनतम ५ हजार २ सय रहेकोमा इन्धन बृद्धिका कारण हवाई भाडा बढेपछि न्युनतम ८ हजार २ सय सम्म पुर्याइएको थियो । बन्द भएको उडान तत्काल सुरु हुने अवस्था नरहेको प्रमुख शाह बताउँछन् । आगामी असोज महिनासम्म यात्रुको अवस्था हेरेर उडान पुनः सुचारु हुने सम्भावना भएपनि अहिलेसम्म कुनै निर्णय नभएको उनले बताए । ‘यात्रुहरुको माग बढेपछि कम्पनीले पुर्नविचार गर्न सक्छ, तर अहिले कुनै निर्णय भएको छैन,’ शाहले थपे ।
नेपालगन्ज बिमानस्थल कार्यालयले अहिले सुविधा सम्पन्न टर्मिनल भवनबाट आफ्नो सेवा दिइरहेको छ । गत बैशाख १५ गतेबाट सञ्चालनमा आएको अन्र्तराष्ट्रिय मापदण्डको टर्मिनल भवन अण्डर ग्राउण्डसहित ५५ हजार स्क्वायर फिटमा तीन तल्लाको रहेको छ । टर्मिनल भवनको तीन वटा ब्लकसहित जहाज पार्किङ क्षेत्र, सवारी साधन पार्किङ, गेष्ट हाउस, ढल ब्यवस्थापन, बगैचा, फुटपात, शौचालय लगायतका संरचना बनाउन मुल्य अभिवृद्धि कर(भ्याट) बाहेक २ अर्ब ७२ करोड रुपैयाँ खर्च भएको थियो । टर्मिनल भवनमा एकैपटक ६ सय ९८ जना बस्न मिल्ने क्षमता छ । नयाँ टर्मिनल भवन सञ्चालनमा आउनु र नेपालगन्ज–पोखरा हवाई उडान बन्द हुनु संयोग जस्तै भएको छ ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका पुर्वअध्यक्ष एवम् पर्यटन ब्यवसायी श्रीराम सिग्देल नेपालगन्ज–पोखरा हवाई उडान बन्द हुँदा धेरै यात्रुले सास्ती पाएको बताउँछन् । सुरुमा नाट्टा बाँकेले नै चार्टर उडान गरेपछि बुद्धले नेपालगन्ज–पोखरा हवाई उडान सुरु गरेको थियो । सरकारले नेपालगन्जलाई क्षेत्रीय विमानस्थलका रुपमा अगाडी नबढाए भविष्यमा यो बिमानस्थल बन्द हुने स्थिती आउन सक्ने खतरा उनले औल्याए । ‘अहिले जहाजको उडान, यात्रुको संख्या घटेको छ, अन्तर प्रदेशमा उडान छैन, भएका उडान पनि कटौति भईसके,’ सिग्देलले भने, ‘नेपालगन्ज बिमानस्थल सरकारको प्राथमिकतामा नै छैन ।’
नेपालगन्ज बिमानस्थल कार्यालयका प्रमुख सन्तोषकुमार पोखरेल पछिल्लो समयमा उत्पन्न विभिन्न परिस्थितीका कारण विमान कम्पनीले उडानमा कटौती गरेको र यात्रुको चाप पनि घटेको बताउँछन् । ‘इन्धनको मुल्य बढेपछि बिमान कम्पनीले हवाई भाडा बढाए, भाडा बढेपछि हवाई यात्रुको चाप कम भयो, कतिपय जहाज कम्पनीले आफ्नो फ्लाईट पनि घटाएका छन्, बुद्धले नेपालगन्ज–पोखराको उडान नै बन्द गर्यो,’ उनले भने ।