नेपालगन्ज : चर्चित ब्यवसायी तथा समाजसेवी सञ्जय थापा नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा चुनाव लड्ने भएका छन् । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेले आइतबार थापालाई संघको अध्यक्षमा उम्मेदवार बनाउने सर्बसम्मत रूपमा निर्णय गरेको हो ।
क्यान बाँकेका पुर्वअध्यक्ष समेत रहेका थापाको उद्योग, ब्यवसाय, शिक्षा, स्वास्थ्य, सामाजिक लगायत विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान रहेको छ । उनी लामो समयदेखी लायन्स क्लबमा पनि आवद्ध रहेर स्वास्थ्य र सामाजिक क्षेत्रमा सेवा गर्दै आएका छन् ।
प्रजातान्त्रिक उद्योग ब्यवसायी संघले अध्यक्ष बाहेक पदाधिकारी र सदस्यको टुंगो भने केहीदिन भित्रमा लगाउने जनाएको छ । संघको निर्वाचनमा अध्यक्षसहित १७ जना निर्वाचित हुने ब्यवस्था छ ।
उम्मेदवारको टुंगो लागेपछि संक्षिप्त प्रतिक्रिया दिदैँ थापाले नेपालगन्ज उद्योग वाणिज्य संघलाई असल अभिभावकीय नेतृत्व दिन आफू नेतृत्वमा आउने खोजेको बताए । 'यसको फैसला आम उद्योगी, ब्यवसायी साथीहरूले गर्नुहुनेछ,' उनलेे दूरसन्चारसँग भने, 'म नेतृत्वमा पुगेपछि समग्र उद्योगी, ब्यवसायीको हकहितका साथै संंस्थालाई चलायमान गराउनेछु ।'
उनी प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ बाँकेको वर्तमान अध्यक्ष पनि हुन । थापा नेतृत्वमा आएपछि प्रजातान्त्रिक उद्योग ब्यवसायी संघले समग्र उद्योगी, ब्यवसायीको हकहितमा आवाज उठाउनुका साथै विभिन्न रचनात्मक काम गर्दै आएको छ । क्यान बाँकेको नेतृत्वमा रहँदा पनि उनले संंस्थाको तर्फबाट विभिन्न गतिविधि गरेका थिए । भर्खरै बामे सर्दै गरेको क्यानलाई देश/विदेशसम्म चिनाउन सफल भएका थिए । थापा अध्यक्ष रहेको नेपालगन्जस्थित आदर्श माध्यमिक विद्यालय संस्थागततर्फ यसक्षेत्रकै अग्रणी शिक्षण संस्थाको रुपमा दर्ज भएको छ ।
आगामी भदौ १ गते नयाँ नेतृृत्व चयनका लागि नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन हुने निश्चित भईसकेको छ । संघका अध्यक्ष टंक धामीको अध्यक्षतामा शनिबार नेपालगन्जमा सम्पन्न भएको बैठकले निर्वाचनको मिति तय गरेको थियो । उक्त बैठकले आगामी साउन ३१ गते साधारण सभा र भदौं १ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । निर्वाचनका लागि संघले ७ दिनभित्र सदस्यता नविकरण गर्न पनि आग्रह गरेको छ ।