नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका कानुनी विवादमा परेका अधिकांश बालकमा छाला रोगको संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जले आफ्नो १३६ औँ स्थापना दिवसको अवसरमा सञ्चालन गरेको एक दिने निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरका क्रममा गरिएको स्वास्थ्य परीक्षणबाट संक्रमण भएको तथ्य बाहिर आएको हो ।
भेरी अस्पतालले एड्भोकेसी फोरम नेपाल र जयेन्दु बालसुधार गृहसँगको समन्वय तथा सहकार्यमा आयोजना गरेको शिविरमा सुधार गृहमा रहेका १७३ बालकमध्ये ९८ जनाले विशेषज्ञ स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधी सेवा प्राप्त गरेका छन् । स्वास्थ्य परीक्षणपछि ८ जनालाई थप उपचारका लागि भेरी अस्पताल रिफर गरिएको छ ।
शिविरमा मनोसामाजिक परामर्श तथा प्रजनन स्वास्थ्य सम्बन्धी परामर्श सेवा पनि उपलब्ध गराइएको थियो । स्वास्थ्य परीक्षणका क्रममा सबैभन्दा बढी छाला रोगका बिरामी भेटिएका छन् । परीक्षण गरिएका ९८ बालकमध्ये ७३ जनामा छाला रोग, १४ जनामा मेडिसिनसम्बन्धी समस्या, १२ जनामा नाक–कान–घाँटी सम्बन्धी समस्या, ५ जनामा मानसिक स्वास्थ्य समस्या तथा ४ जनामा दन्तसम्बन्धी समस्या देखिएको स्वास्थ्य टोलीले जनाएको छ । केही बालकमा १ भन्दा बढी स्वास्थ्य समस्या समेत रहेको चिकित्सकहरूले बताएका छन् ।
छाला तथा यौनरोग विशेषज्ञ डा. सुवास पौडेलका अनुसार अधिकांश बालकमा लुतो र दादजस्ता संक्रामक छाला रोग देखिएको छ । सुधार गृहमा बसोबास, सरसफाई तथा व्यक्तिगत स्वास्थ्य व्यवस्थापनमा थप सुधार आवश्यक रहेको उनको भनाइ छ ।
मानसिक रोग विशेषज्ञ डा. दिप्ती काफ्लेले केही बालकमा डिप्रेसन, चिन्ता (एन्जाइटी) तथा एक जनामा आत्महत्याको सोचसम्म आउने गम्भीर मानसिक समस्या देखिएको जानकारी दिइन् । उनले सुधार गृहमा नियमित मानसिक स्वास्थ्य सेवा र मनोसामाजिक परामर्शको आवश्यकता औँल्याइन् ।
नाक–कान–घाँटी रोग विशेषज्ञ डा. दिनेश चौधरीका अनुसार केही बालकमा कान पाक्ने, सुनाइ कम हुने लगायतका समस्या देखिएका छन् भने दन्तरोग विशेषज्ञ डा. विवेक कुमार महतोले दाँतमा किरा लाग्ने, गिजा सुन्निने तथा दन्तहर्षजस्ता समस्या बढी देखिएको बताए । कन्सल्टेन्ट फिजिसियन डा. संकेत रिसालका अनुसार पेट दुख्ने, कमजोरी महसुस हुने र छाती दुख्ने समस्या भएका बालक पनि भेटिएका छन् ।