नेपालगन्ज : बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धन बाँकेका सरोकारवाला एकमत भएका छन् । बाँके राष्ट्रिय निकुञ्ज कार्यालय, जेडएसएल लगायत निकायसँगको सहकार्यमा इन्डुरेक बाँकेले कोहलपुरमा शुक्रबार आयोजना गरेको छलफल तथा अन्तरक्रिया कार्यक्रममा उपस्थित भएका सरोकारवाला एकमत भएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथी एवम् प्रतिनिधि सभाका सांसद सुरेशकुमार चौधरीले बाँके राष्ट्रिय निकुञ्जमा पर्यटन प्रर्वद्धन गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए । कोहलपुर नगरपालिकाका कार्यबाहक मेयर संगिता सुवेदीले निकुञ्ज कार्यालयसँग सहकार्य गरेर आफुहरुले सचेतनामूलक काम गरेको बताइन् । नगरपालिकासँगै जोडिएको निकुञ्जको पर्यटन प्रर्वद्धन गर्न आफुहरु जहिलेपनि साथमा रहेको उनको भनाई छ ।
लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले निकुञ्जको पर्यटन प्रर्वद्धन गरेर लुम्बिनी प्रदेशलाई समृद्ध बनाउनुपर्ने बताए । आफु मन्त्रालयको सचिव भएर जिम्मेवारीमा रहँदा बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धनमा आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । बर्दियाभन्दा बाँके राष्ट्रिय निकुञ्जमा पर्यटनको प्रचुर सम्भावना रहेको उनको भनाई छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले निकुञ्जको पर्यटन प्रर्वद्धन गर्ने नाममा कानुन विपरितका कार्य क्षम्य नहुने बताए । कानुनको पालनासँगै पर्यटन प्रर्वद्धन आवश्यक रहेको उनले जोड दिए । कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत बीरेन्द्र प्रसाद कँडेलले प्रस्तुतीकरण गर्दै निकुञ्जमा आवश्यक पुर्वाधार निर्माण भएर सफारीका लागि तयारी अवस्थामा रहेको बताए । अघिल्लो आर्थिक वर्षभन्दा तेब्बरबढी पर्यटकले निकुञ्जमा सफारी गरेको उनले जानकारी दिए ।
निकुञ्जमा पर्याप्त मात्रामा घाँसे मैदान, कृत्रिम ताल, मचान, वनपथ निर्माण गरिएको कँडेलले बताए । सो क्रममा जेडएसएलका प्रतिनिधीले संस्थामार्फत निकुञ्जभित्र भएका काम र गतिविधिबारे जानकारी गराएका थिए । निकुञ्जसँगको सहकार्यमा संस्थाले कृत्रिम ताल लगायतका संरचना निर्माण गरेको उनले बताए । इन्डुरेकका धर्मलाल रोकायले बाँके राष्ट्रिय निकुञ्जको प्रवद्र्धनका लागि आफ्नो संस्था जोडिएर काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा उपस्थित भएका निजी क्षेत्रका प्रतिनिधि एवम् ब्यवसायीहरुले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धन आफुहरुको पहिलो प्राथमिकता रहेको बताए । कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी, कोहलपुर उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेपाल होमस्टे ब्यवसायी महासंघ नेपालका केन्द्रिय महासचिव कृष्ण चौधरी, होटल ब्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरका अध्यक्ष डिल्ली रेग्मी, होटल ब्यवसायी देवानन्द अर्याल लगायतले बाँके राष्ट्रिय निकुञ्जको पर्यटन प्रर्वद्धन गर्नमा राज्यका निकायले पनि सहयोग गर्न आवश्यक रहेको बताए ।
बोल्ने अधिकांस पर्यटन ब्यवसायीले भुगोलका हिसाबले बाँके राष्ट्रिय निकुञ्जको अधिकांस भाग राजमार्गसँग जोडिएको भन्दै सडकमा गुड्ने सफारी गाडीलाई चिट काट्ने र जरिवाना तिराएर ट्राफिक प्रहरीले पर्यटन प्रर्वद्धनमा बाधा पुर्याएको गुनासो गरे । ब्यवसायीको गुनासोको जवाफमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख एवम् प्रहरी निरीक्षक कनकबहादुर शाहीले पर्यटन ब्यवसायीलाई दुःख दिने आफुहरुको नियत नभएको बताए ।
कार्यक्रममा बाँके राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र ब्यवस्थापन समितिका अध्यक्ष गेहेन्द्रकुमार खड्का, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष सावित्रा पुन, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, पर्यटन ब्यवसायी, संरक्षणकर्मी, नेचर गाईडहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।