बाँके(खजुरा) : खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सम्पूर्ण डायग्नोसिस सेवा एउटै भवनबाट संचालनमा ल्याएको छ ।
उपचारका लागि अस्पताल आएका बिरामीहरुलाई फरक फरक स्थानमा बिभिन्न परिक्षण गर्न असहज भएको गुनासो आएपछि रोगको पहिचानका लागि गरिने सम्पूर्ण परिक्षणहरु एउटै भवनबाट संचालनमा ल्याएको खजुरा क्यान्सर अस्पतालले जनाएको छ ।
डायग्नोसिस ल्याव, रेडियोलोजी तथा थेरापी सम्बन्धी सम्पूर्ण सेवा एउटै भवनबाट संचालनमा ल्याइएको अस्पतालका कार्यकारी निर्देशक डा. निरज भट्टराईले जानकारी दिए ।
रगत परिक्षण, सिटी स्क्यान, भिडियो एक्सरे, मेमो ग्राफी, थेरापी लगायतको सेवा लिन फरक फरक स्थानमा जानुपर्दा बिरामीहरुलाई असहज भएको देखिएपछि एउटै भवनबाट सेवा संचालन गरिएको उनले बताए ।
दुरदराजबाट आएका बिरामीहरुलाई परिक्षण गर्ने भवनहरु पत्ता लगाउनै गाह्रो परिरहेको अवस्थामा एउटै छानामुनी सबै सेवा प्राप्त भएपछि बिरामीहरुले राहत पाउने डा. भट्टराईले अपेक्षा गरे । बिरामीलाई परिक्षण गर्ने स्थान पत्ता लगाउन सजिलो बनाउन डायग्नोसिस भवनलाई निलो रङ्ग दिइएको छ ।
बिरामीहरुको सहजताका लागि एम्बुलेन्स र सुरक्षाका लागि रातो घर, बहिरङ्गसहित केमो, फर्मेसीका लागि पहेंलो भवन निर्धारण गरिएको उनले बताए । कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका दुर्गम क्षेत्रबाट क्यान्सरको उपचारका लागि अस्पताल आएका बिरामीलाई फरक फरक ब्लक पत्ता लगाउन असहज बन्ने गरेको थियो ।
अस्पतालले गत आवमा मात्र ३ प्रदेशका ४० हजार बढी क्यान्सरका बिरामीहरुलाई सेवा दिएको अस्पतालले जनाएको छ ।