बाँके (खजुरा) : लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्न खत्रीले खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय सरकार मातहतमा सञ्चालन भएपनि क्यान्सर अस्पताललाई सहयोग गर्न कुनै कसर बाँकी नराख्ने उनको भनाई छ ।
खजुरा गाउँपालिका–७ मा रहेको उक्त अस्पतालको आइतबार स्थलगत अनुगमन तथा निरीक्षणका क्रममा मन्त्री खत्रीले अस्पतालको वर्तमान अवस्था, सेवा प्रवाह, पूर्वाधार, जनशक्ति तथा भावी आवश्यकताबारे जानकारी लिँदै प्रदेश सरकार अस्पतालको विकास र सेवाको गुणस्तर अभिवृद्धिका लागि सकारात्मक रहेको बताए ।
अस्पतालले पश्चिम नेपालका मात्रै नभई देशका विभिन्न जिल्लाबाट आउने क्यान्सर बिरामीलाई सेवा दिइरहेको उल्लेख गर्दै यस्तो महत्वपूर्ण स्वास्थ्य संस्थाको विकासमा प्रदेश सरकार जिम्मेवार भएर अघि बढ्ने बताए । ‘यो अस्पतालमा उपचारका लागि आउने बिरामीहरू यही प्रदेशका मात्र नभई विभिन्न जिल्लाका नागरिक हुनुहुन्छ, अस्पताल संघीय सरकार मातहत रहेको भन्दै प्रदेश सरकार हात बाँधेर बस्दैन। नागरिकको स्वास्थ्यसँग जोडिएको विषय भएकाले आवश्यक सहयोग गर्न प्रदेश सरकार सधैँ तयार छ,’ खत्रीले भने ।
प्रदेश सरकारले अस्पताललाई देखिने, प्रभावकारी र दीर्घकालीन लाभ पुग्ने योजना उपहारका रूपमा उपलब्ध गराउने तयारी गरिरहेको जानकारी दिए । अस्पतालको आवश्यकताको आधारमा पूर्वाधार निर्माण, सेवा विस्तार तथा अन्य सहयोगका विषयमा सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने मन्त्री खत्रीको भनाइ थियो ।
अनुगमनका क्रममा अस्पतालका निर्देशक डा. निरज भट्टराईले अस्पतालको वर्तमान अवस्था, चुनौती र आवश्यकताबारे मन्त्री खत्रीलाई जानकारी गराएका थिए । उनले सुशील कोइराला प्रखर क्यान्सर अस्पताल क्यान्सर उपचारमा विशिष्टीकृत सेवा प्रदान गर्ने अस्पताल भएपनि पर्याप्त जनशक्ति, स्रोत-साधन र बजेटको अभावबीच सेवा सञ्चालन गर्नुपरेको बताए ।
निर्देशक भट्टराईका अनुसार अस्पताल १०० शैयाको स्वीकृती प्राप्त भएपनि हाल आवश्यक जनशक्ति र स्रोतको अभावका कारण ७० शैया मात्र सञ्चालनमा रहेको छ । अस्पतालमा कार्यरत अधिकांश चिकित्सक तथा स्वास्थ्यकर्मी अस्थायी तथा ज्यालादारीमा सेवा दिइरहेका छन । जसले दीर्घकालीन रूपमा सेवा प्रवाहमा चुनौती सिर्जना गरिरहेको उनले बताए ।
मन्त्री खत्रीले अनुगमनका क्रममा अस्पतालका विभिन्न वार्ड, उपचार कक्ष, प्रयोगशाला, रेडियोथेरापी तथा अन्य सेवा इकाइको अवलोकन गर्दै उपचाररत बिरामी र उनीहरूका आफन्तसँग समेत कुराकानी गरेका थिए । उक्त अस्पतालले बाँकेसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका ठूलो संख्यामा क्यान्सर बिरामीलाई विशेषज्ञ सेवा प्रदान गर्दै आएको छ ।