नेपालगन्ज : नेपालगन्जस्थित भेरी अस्पतालले सिटी स्क्यान सेवा पुनः सञ्चालनमा ल्याएको छ । अस्पतालले सोमबारबाट पुनः सञ्चालनमा ल्याएको हो । भेरी अस्पतालले सार्वजनिक सूचनामार्फत सेवा सुचारुबारे जानकारी गराईसकेको छ ।
अस्पताल प्रशासनका अनुसार विगत दुई वर्षदेखी प्राविधिक कारणले सिटी स्क्यान सेवा बन्द भएको थियो । सरकारी अस्पतालको सिटी स्क्यान सेवा बन्द हुँदा बिरामीले निजी स्वास्थ्य संस्थामा महंगो रकम तिरेर सिटी स्क्यान गराउनु परेको थियो । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा. नवीन दर्नालले अबदेखि अस्पतालमा आउने सम्पूर्ण सेवाग्राहीले विशेषज्ञ चिकित्सकको सिफारिस अनुसार आवश्यक सिटी स्क्यान सेवा सहज, सुरक्षित र गुणस्तरीय रूपमा प्राप्त गर्न सक्ने बताएका छन् ।
भेरी अस्पतालबाट पुनः सुचारु भएको सेवाबाट सर्बसाधारणले प्रत्यक्ष रुपमा लाभ लिन सक्ने उनको भनाई छ । मेसु डा. दर्नालले भने, ‘सिटी स्क्यान सेवा सुरु भएपछि बिरामीहरूले अन्यत्र धाउनुपर्ने बाध्यता कम हुनेछ, समयमै रोगको पहिचान तथा उपचारमा सहजता आउने र आर्थिक भारसमेत कम हुने हाम्रो विश्वास छ ।’ भेरी अस्पताल उपचार गर्ने संस्था मात्र नभएर जनताको विश्वासको केन्द्र रहेको उनी बताउँछन् ।
अस्पतालले भनेको छ, ‘अस्पताल परिवारको उद्देश्य प्रत्येक बिरामीलाई सम्मानजनक, सुरक्षित, गुणस्तरीय तथा समयमै स्वास्थ्य सेवा प्रदान गर्नु हो, यही उद्देश्यलाई आत्मसात गर्दै अस्पतालले पछिल्ला दिनहरूमा सेवा विस्तार, सेवा व्यवस्थापन सुधार, आधुनिक उपकरणहरूको सञ्चालन, विशेषज्ञ सेवाको सुदृढीकरण, बिरामीमैत्री वातावरण निर्माण तथा सेवाको गुणस्तर अभिवृद्धिका लागि निरन्तर प्रयास गरिरहेको छ ।’ अस्पताल प्रशासनले आगामी दिनमा पनि सेवाग्राहीको सुझाव, विश्वास र सहकार्यलाई आत्मसात गर्दै अझ प्रभावकारी, पारदर्शी र सुशासन सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न हामी प्रतिबद्ध रहेको पनि जनाएको छ ।