नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि शुक्रबार सर्बसम्मत टिम घोषणा गरिएको छ । चिरिञ्जिवी ओलीको अध्यक्षतामा पदाधिकारी तथा कार्यसमिति सदस्यको नाम घोषणा गरिएको हो ।
जसअनुसार उपाध्यक्ष (उद्योग)मा कमलकुमार कार्की, उपाध्यक्ष (वाणिज्य)मा विष्णुप्रसाद श्रेष्ठ र उपाध्यक्ष (महिला)मा रुपा ओझा(सानु) तथा महासचिवमा विष्णु श्रेष्ठ, उप–महासचिवमा शिवप्रसाद दाहाल र कोषाध्यक्षमा टिकामणि उपाध्याय रहेका छन् ।
यस्तै सदस्यहरुमा सन्तोष पौडेल, तोपबहादुर थापा, नन्दराम जैसी, सैयद जहागिर मुसलमान, अतुल गुप्ता, शरद अधित्रकारी, शरद रिजाल, आदित्य गुप्ता, चाँदबाबु अन्सारी र नगेन्द्र शाहीको नाम घोषणा गरिएको छ । यसैगरी एशोसियट सदस्यमा अब्दुल वाहिद अन्सारी र राजिव तलंगा, सम्वद्ध सदस्यमा फणाधर भण्डारी र सुरेशजंग बंजारा रहेका छन् ।
सो क्रममा प्रजातान्त्रिक उद्योग ब्यवसायी संघका तर्फबाट निर्वाचन परिचालन समितिका संयोजक ललितकुमार रौनियारले उम्मेदवारको नाम घोषणा गरेका थिए । नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको घोषणा कार्यक्रममा संघका पुर्वअध्यक्ष नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’, संघका वर्तमान अध्यक्ष टंक धामी, वरिष्ठ उद्योगी कन्हैयालाल बैद्य, चम्पालाल बोथरा, प्रदिप छाजेड, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, संघका वर्तमान पदाधिकारी, उद्योगी, ब्यवसायी लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार ओलीले सम्पूर्ण उद्योगी, ब्यवसायीका एजेण्डालाई साझा रुपमा समाधान गर्नका लागि सबै विचार समुह मिलेर सर्वसम्मत रुपमा टिम निर्माण गरिएको बताए । ‘यो टिम मजबुद तरिकाले ब्यवसायीको हकहितका निम्ति सधैं लड्नेछ, बाँकेमा गरिएको यो अभ्यासले देशभरी राम्रो म्यासेज दिनेछ,’ उनले भने । प्रजातान्त्रिक उद्योग ब्यवसायी संघ तर्फका आकांक्षी सञ्जय थापाले अस्पतालमा आमालाई उपचारका लागि भर्ना गरिएकोले आउन नपाएको भन्दै फोनमार्फत सम्बोधन गरेका थिए । उनले 'सर्वसम्मत' टिमलाई जिताउन सबै उद्योगी, ब्यवसायीलाई आग्रह गर्दै आफु पनि सोही टिममा रहेको बताए ।
संघको आगामी तीन वर्षे कार्यकालका लागि भदौं ६ गते निर्वाचन घोषण गरिएको छ । यसअघि निर्वाचनका लागि प्रजातान्त्रिक प्यानलबाट संजय थापा र समावेशी प्यानलबाट चिरञ्जिवी ओलीको नेतृत्वमा छुट्टा-छुट्टै प्यानल घोषणा भएपनि पुर्वअध्यक्ष तथा पदाधिकारीको पहलमा सर्वसम्मत रुपमा नेतृत्व छनोटको प्रयास थालिएको बताइएको छ । यद्यपी, संघको निर्वाचनका लागि अन्य आकांक्षीहरुले पनि असन्तुष्टी जनाउँदै अध्यक्ष सहित विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बुझिएको छ ।