नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका २५ वटा सरकारी तथा निजी अस्पतालमा ९४ वटा निःशुल्क शैया ब्यवस्थापन गरिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका कार्यालयले ‘लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३’र नेपालगन्ज उपमहानगरपालिकाको ‘नगर स्वास्थ्य ऐन, २०७९ को दफा २८ को उपदफा(१) लाई कार्यान्वयनमा ल्याउन उक्त शैया ब्यवस्थापन गरेको हो । ति शैयामा गरिव, विपन्न, असहाय तथा बेवारिसे नागरिकको निःशुल्क रुपमा उपचार गरिनेछ ।
आगामी भदौं १ गतेदेखि यस सम्बन्धी सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गरी आवश्यक तयारी गरिएको उपमहानगरपालिका कार्यालयले जनाएको छ । नेपालगन्जमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेयर प्रशान्त बिष्टले ‘लक्षित वर्ग निःशुल्क उपचार सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०८३’ र नेपालगन्ज उपमहानगरपालिकाको ‘नगर स्वास्थ्य ऐन, २०७९ को दफा २८ को उपदफा(१)ले गरेको ब्यवस्थालाई कागजमा सिमित नराखेर ब्यवहारमा कार्यान्वयन गर्न निजी तथा सरकारी अस्पतालमा निःशुल्क शैयाको ब्यवस्था गरिएको बताए । सेवालाई थप प्रभावकारी बनाउन समय–समयमा अनुगमन समेत गरिने नगर प्रमुख बिष्टले बताए ।
यस्तै उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बमले निःशुल्क सेवालाई प्रभावकारी रुपले सञ्चालन गर्न ‘एआई’ सँग फोनमा निःशुल्क रुपमा कुराकानी गरेर आमनागरिकले सम्पूर्ण कुराको जानकारी लिन सक्ने ब्यवस्था मिलाइएको बताए । आवश्यक सेवाबारे जानकारी लिन बाँकेसहित जुनसुकै जिल्लाका नेपाली नागरिकले ९७०२६९७७७२ मा निःशुल्क फोन गर्न सक्नेछन् ।
भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नवीन दर्नालले १० प्रतिशत निःशुल्क शैयाको ब्यवस्था गर्नुपर्ने सरकारको नीतिभन्दा पनि बढी संख्यामा गरिव, विपन्न तथा असहाय नागरिकको उपचार गर्दै आएको बताए ।
उपमहानगरपालिकाका प्रवक्ता एवम वडा नम्बर १ का वडाअध्यक्ष प्रमोद रिजालले उपचारका लागि सिफारिस गर्दा वडाअध्यक्षहरुले धेरै सजगता अपनाउनुपर्ने बताए । उपचार सिफारिसमा दुरुपयोग हुन नदिन सम्बन्धित वडाका वडाअध्यक्ष चनाखो हुनुपर्ने उनले बताए ।
निःशुल्क स्वास्थ्य उपचार सेवा सञ्चालन गर्न २५ वटै अस्पतालमा मोबाईल नम्बरसहित फोकल पर्सन तोकिएको छ । उपमहानगरपालिकाले उपलब्ध गराएको नम्बरमा जुनसुकै ठाउँबाट पनि फोन गरेर सर्बसाधारण नागरिकले सोधेपछि ‘एआई’ प्रविधिमार्फत सबै कुराको जानकारी दिइनेछ, भने सम्बन्धित अस्पतालको फोकल पर्सन तथा उपमहानगरपालिकाका गुनासो सुनुवाई अधिकारी तेज वली लगायतको नम्बर एआईले उपलब्ध गराउनेछ ।
तोकिएका सबै अस्पतालमा दैनिक रूपमा निःशुल्क शैयाको अवस्था अध्यावधिक गरी सेवाग्राहीलाई जानकारी उपलब्ध गराउने, निःशुल्क स्वास्थ्य सेवा सहयोग कक्षमार्फत सहजीकरण गर्ने लगायतका कार्यहरु गरिने उपमहानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख जागेश्वर बस्नेतले बताए ।कार्यविधि अनुसार अस्पतालले आफ्नो कुल शैयाको १० प्रतिशत शैयामा निःशुल्क उपचार नगरेको र उपचारबाट गरिव, विपन्न, असहाय तथा बेवारिसे नागरिकलाई उपचारबाट बञ्चित गरिएको पाइएमा प्रचलित कानुन अनुसार कारबाही गरिने बस्नेतले सुनाए ।