बाँके(बैजनाथ) : बैजनाथ गाउँपालिकाले किसानलाई ४३ थान पावर टिलर वितरण गरेको छ । गाउँपालिकाको वडा नम्बर १ देखी ८ सम्मका किसान, कृषी फर्म, किसान समुह र कृषी सहकारी संस्थालाई पावर टिलर वितरण गरिएको हो । किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत गाउँपालिकाले शुक्रबार औपचारिक कार्यक्रमका बीच पावर टिलर वितरण गरेको हो ।
आर्थिक वर्ष २०८२/०८३ को बजेटमार्फत गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले किसानहरुलाई उक्त पावर टिलर हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शाहीले किसानको अधिकारका निम्ति लडेका सहिद स्वर्गिय बैजनाथ थारुको सपनालाई साकार पार्न करिव ७० प्रतिशत किसानको आर्थिक अवस्थामा सुधार ल्याउन आफुहरु निर्वाचित भएर आएपछि २०७९/०८० देखी किसानसँग पालिका प्रमुख कार्यक्रम नियमित रुपमा सञ्चालन गर्दैआएको बताए । किसानसँग पालिका प्रमुख कार्यक्रममार्फत किसानलाई हरेक वर्ष पावर टिलर, मिनी टिलर, बिद्युतीय चारा मेसिन, मिनी मिल, पम्पसेट, मोटर, डेलिभरी पाइप, दुध बोक्ने क्यान, डिजिटल तराजु, ई–लोडिङ रिक्सा, काउ म्याट, भैसी, बाख्रा, सुँगुर, कुखुरा लगायत सामाग्री दिदै आएको बताए ।

कार्यक्रम लागु भएपछि बैजनाथमा कृषी उत्पादन बढेको उनले बताए । ‘पहिलो कुरा यो कार्यक्रम किसानलाई समृद्ध बनाउनको लागि ल्याएका हौं, अर्को कुरा किसानको मुद्दामा बोल्ने सहिद स्वर्गिय बैजनाथ थारुको सम्मान स्वरुप कार्यक्रम जोडिएको हो,’ अध्यक्ष शाहीले भने, ‘हामीले कार्यक्रममा ठुला, साना र अतिविपन्न किसानलाई जोडेका छौं, किसानसँग पालिका प्रमुख कार्यक्रमको कार्यविधि पनि छ, सोही कार्यविधि अनुसार कार्यक्रम चलाएका छौं ।’
किसानसँग पालिका प्रमुख कार्यक्रम गाउँपालिकाको गौरवको योजना रहेको अध्यक्ष शाहीले बताए । ‘हामीले कार्यक्रम गरेपछि बैजनाथको सिको गरेर अरु स्थानीय तहले पनि सञ्चालन गरेका छन्, हामीसँग पनि छलफल गरेर कार्यक्रम गरेका छन्, यो हेर्दा खुसी लाग्छ, हामीले कति गर्न सक्यौं, त्यो भोलिका दिनमा देखिएला, तर हाम्रो उद्देश्य किसानको उत्पादन बढाउने हो,’ उनले थपे ।
गाउँपालिकाका कृषी शाखा प्रमुख प्रमादकुमार विश्वकर्माले अनुदानमा प्राप्त गरेको पावर टिलरलाई सही ढंगले प्रयोग गर्नुपर्ने बताए । ‘यो बहुउपयोगी सामान हो, यसलाई तपाईहरु जोत्ने बाहेक धेरै कुरामा प्रयोग गर्न सक्नुहुन्छ, तर सही तरिकाले प्रयोग गर्नुहोला,’ विश्वकर्माले भने ।
गाउँपालिका कृषी शाखाका नायव प्राविधिक सहायक सचिन मेघनाथका अनुसार वितरण गरिएको पावर टिलरको बजार मुल्य २ लाख २० हजार रुपैयाँ रहेकोमा ७० प्रतिशत अनुदानमा किसानले ६६ हजार रुपैयाँ मात्र शुल्क बुझाएका छन् । ‘बैजनाथका किसानहरु एकदमै भाग्यमानी हुनुहुन्छ, जसले ७० प्रतिशत अनुदानमा पावर टिलर पाउनु भएको छ,’ उनले भने, ‘किसानसँग पालिका प्रमुख कार्यक्रम अन्तर्गत गाउँपालिकाले किसानलाई धेरै सामानहरु वितरण गरेको छ ।’