नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि संयुक्त प्यानलको सचिवालय सञ्चालनमा ल्याइएको छ । संघको निर्वाचन यही भदौं ६ गते हुदैछ । उक्त प्यानलले नेपालगन्जको न्यूरोडमा सोमबार आफ्नो सचिवालय सञ्चालनमा ल्याएको हो । उक्त सचिवालयको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले औपचारिक रुपमा रिबन काटेर उद्घाटन गरेका हुन् ।
उद्घाटन कार्यक्रममा संघका अध्यक्ष धामीसहित पुर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी, संयुक्त प्यानलको अध्यक्ष पदका उम्मेदवार चिरञ्जिवी ओली, वरिष्ठ ब्यवसायी एवम् प्रजातान्त्रिक उद्योग ब्यवसायी संघका ललितकुमार रौनियार लगायतको उपस्थिती रहेको थियो । सो क्रममा बोल्दै अध्यक्ष पदका उम्मेदवार ओलीले उद्योगी, ब्यवसायीका समस्या र मुद्दालाई सम्बोधन गर्ने गरी अहिले नै टिपोट गर्ने काम गरिरहेको बताए ।
निर्वाचनको मुखमा चुनाव प्रचारका अलवा उद्योगी, ब्यवसायीका समस्यालाई नजिकबाट नियाल्ने काम गरेको उनको भनाई छ । आफु उद्योग वाणिज्य संघमा बसेर महासचिव, प्रथम उपाध्यक्ष भएर काम गरिसकेकाले यसपटक नेतृत्वमा आएर उद्योगी, ब्यवसायीका पक्षमा काम गर्न खोजेको ओलीले बताए ।
सो क्रममा संघका अध्यक्ष टंक धामी, पुर्वअध्यक्षहरु कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल बैश्य, अब्दुल वाहिद मन्सुरी, वरिष्ठ ब्यवसायी ललितकुमार रौनियार लगायतले पनि आसन्न निर्वाचनमा संयुक्त प्यानललाई मतदान गरेर निर्वाचित गराउन आग्रह गरे ।