नेपालगन्ज : आज असोज ३ गते । ‘संविधान दिवस’ अर्थात् नेपाली जनता आफैले संविधान सभाबाट संविधान जारी गरेको गौरवपूर्ण र ऐतिहासिक दिन । यही दिनमा एउटा सशक्त अनलाइन सञ्चार माध्यम ‘दूरसञ्चार डटकम’ ले आफ्नो यात्रा थालनी गर्ने जमर्को गर्यो ।
दूरसञ्चार मिडिया नेटवर्क प्रा.लि.द्धारा सञ्चालित दूरसञ्चार डटकमले २०७८ असोज ३ गतेबाट औपचारिक रुपमा यात्रा थालेको हो । अनलाइन सञ्चार माध्यम सञ्चालनमा आएको आज पाँच वर्ष पुरा भएर छैठौं वर्षमा प्रवेश गरिसकेको छ । यस अवसरमा हाम्रा समस्त पाठकवर्ग, लेखक, विज्ञापनदाता, सहकर्मी तथा शुभेच्छुक सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
पछिल्लो समय विश्वमा प्रविधिको विकास ह्वात्तै बढेको छ । प्रविधिले नेपालमा पनि निकै नै फड्को मारेको अवस्था छ । जसका कारण डिजिटल पत्रकारिता नेपालमा फस्टाउँदै गएको छ । तत्कालै सूचना सम्प्रेसन गर्ने, विश्लेषण गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउने दिशामा डिजिटल पत्रकारिताले महत्वपुर्ण भूमिका निर्वाह गर्दछ ।
छापा हुँदै विकसित भएर आएको डिजिटल पत्रकारिता अहिले सबैभन्दा सजिलो सञ्चार माध्यम बनेको छ । पाठकलाई पल–पलमा चाहिने सूचना र समाचारको प्यास नै डिजिटल पत्रकारिता विकासको प्रमुख कारण हो । छिटो, छरितो र सहजै सूचना सम्प्रेषण गर्नसक्ने भएकाले डिजिटल पत्रकारिताको महत्व र आवश्यकता धेरै छ ।
पत्रकारिताले ब्यवस्थापिका, कार्यपालिका र न्यायपालिकालाई पनि जिम्मेवार र जवाफदेही बनाउने काम गर्दछ । पत्रकारिता क्षेत्र लोकतन्त्रको एउटा महत्वपुर्ण स्तम्भ पनि हो । लोकतन्त्रमा मात्र पत्रकारिता सम्भव हुन्छ । जब लोकतन्त्र खतरामा पर्छ, तब पत्रकारिता पेशा संकटमा पर्छ ।
त्यसैले हामी जहिलेपनि प्रेस स्वतन्त्रता र लोकतन्त्रमा विश्वास गर्दछौं र यही मान्यताका साथ पत्रकारितालाई अगाडी बढाएका छौं । संविधानले अंगीकार गरेका मान्यतालाई आत्मसाथ गर्दै राष्ट्रियता, लोकतन्त्र, संघीयता सहितको बहुलवाद र मानव अधिकार हाम्रा आर्दश हुन् ।
संविधानले गरेको ब्यवस्था अनुसार आमनागरिकको जीवनलाई व्यावहारिक रूपमै रूपान्तरण गर्न हाम्रो ध्यान केन्द्रित भइरहेको छ । आमनागरिकले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा र राज्यले आमनागरिकलाई गर्ने ब्यवहारप्रति हाम्रो नजर केन्द्रित रहेको छ ।
राज्यका हरेक निकाय र आमनागरिकलाई पत्रकारिताको माध्यमबाट उत्तरदायी र जवाफदेही बनाउने हाम्रो प्रयास छ । सरकारी निकायमा भएका राम्रा कामको प्रशंसा र भ्रष्टाचार तथा अनियमितता विरुद्ध हाम्रो निगरानी भइरहेको छ ।
‘दूर’ अर्थात् टाढा रहेका सर्बसाधारण नागरिकका दैनिकी, उनीहरुका समस्या, भोगाई जस्ता विषयलाई अनलाइन सञ्चार माध्यममार्फत उजागर गर्ने हाम्रो मुल लक्ष्य हो । त्यसैले दुर्गमदेखी सुगम सम्मका खबर प्रवाहको काम ‘दूरसञ्चार डटकम’ ले स्थापनाकालदेखी नै निरन्तर रुपले गर्दै आएको छ ।
दूरसञ्चार डटकमले सबैलाई समान नजरले हेर्दै आएको छ । कुनैपनि राजनीतिक आस्थाबाट प्रेरित भएका छैनौं । कुनै राजनीतिक विचारलाई हामीबाट पक्षपोषण वा निषेध भएको छैन र आगामी दिनमा पनि हुने छैन । सबै जाति, भाषा, धर्म, वर्ण, लिंग, भुगोल, क्षेत्र र राजनीतिक आस्थाका आधारमा कसैलाई निषेध र कसैको पक्षपोषण गरिएको छैन ।
आगामी दिनमा पनि आमचासोका विषय, नागरिकको जीविकोपार्जन, सुशासन जस्ता विषयमा हाम्रो नजर हुनेछ । सफलताको दुई वर्षे यात्राले हामीलाई थप उत्साहित बनाएको छ । दूरसञ्चार डटकममा प्रकाशन गर्ने हरेक सामाग्रीको गुणस्तरमा हामीले विशेष जोड दिदै आएका छौं । दूरसञ्चार डकमका साथै हाम्रो युटुव च्यानल र सामाजिक सञ्जाल फेसबुक पेजमार्फत पनि कार्यक्रम, समाचार तथा भिडियो सामाग्रीहरु पस्किने काम गरिरहेका छौं ।
तसर्थ, हाम्रो यस अभियानले सफलताको पाँच वर्ष पुरा गरी छैठौं वर्ष प्रवेश गर्नमा सबैभन्दा महत्वपूर्ण र प्रेरणाका स्रोत भनेकै आमपाठक वर्ग हुनुहुन्छ । आगामी दिनमा पनि यहाँहरुको महत्वपूर्ण सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गरेका छौं । धन्यवाद !