रुपन्देही : दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थल स्तरोन्नति र धावनमार्ग विस्तारका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल ‘गनेस’सहित मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक र इन्जिनियर तथा प्राविधिकको टोली स्थलगत अध्ययनका लागि दाङ पुगेको छ ।
सरकारले टरिगाउँ विमानस्थललाई ७२ सिटे विमान नियमित सञ्चालन गर्न सक्ने गरी विकास गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा २५ करोड रुपैयाँ बजेट छुट्याएपछि मन्त्री पौडेलसहितको टोलीले बुधबार विमानस्थलको स्थलगत निरीक्षण गरेको हो । निरीक्षणका क्रममा मन्त्री पौडेलले टरिगाउँ विमानस्थल अब सञ्चालनमा ल्याउनुपर्ने आवश्यकता रहेको बताए ।
नेपालगन्ज विमानस्थलभन्दा उचाइमा रहेकाले प्रतिकूल अवस्था वा अन्य कारणले नेपालगन्ज विमानस्थल सञ्चालनमा समस्या आए टरिगाउँलाई वैकल्पिक विमानस्थलका रूपमा समेत प्रयोग गर्न सकिने उनले बताए । ‘अब टरिगाउँ विमानस्थल चलाउनुपर्छ । '७२ सिटे जहाजलाई नियमित चलाउने गरी अघि बढ्नुपर्छ, यो महत्वपूर्ण वैकल्पिक आयोजना बन्न सक्छ,’ मन्त्री पौडेलले भने, ‘प्राविधिक पक्षको अध्ययन गर्न मन्त्रालयको टोली, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिक, महानिर्देशक र सचिवसहित आएका छौँ । जनप्रतिनिधिको पनि सहभागिता रहेको छ ।’
विमानस्थलको धावनमार्गको क्षमता राम्रो रहेको प्रारम्भिक प्राविधिक सुझाव आएको भन्दै विस्तृत अध्ययनपछि आवश्यक काम अघि बढाइने बताए । स्थानीय क्षेत्रका जनप्रतिनिधि तथा पार्टीका महामन्त्रीसमेत रहेको जिल्लाको महत्वपूर्ण आयोजना भएकाले टरिगाउँ विमानस्थलको विकास रोकिन नहुने उनको भनाइ छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा दाङ क्षेत्र नं. २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विपीनकुमार आचार्यले टरिगाउँ विमानस्थलको विकास भावनाका आधारमा नभई आवश्यकताका आधारमा अघि बढाइएको बताए । ‘यो भावनामा भन्दा पनि आवश्यकताका आधारमा बन्ने हो ।