नेपालगन्ज : बाँकेस्थित राप्ती नदीमा रयाफ्टिङ सञ्चालन गर्नका लागि आइतबार सम्भाब्यता अध्ययन गरिएको छ । नेपाल पर्यटन बोर्ड सहितको एक टोलीले आइतबार बाँकेको राप्ती सोनारी गाउँपालिकामा पुगेर सम्भाब्यता अध्ययन गरेको हो ।
राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ अगैयास्थित राप्ती नदीमा पुगेर उक्त टोलीले स्थलगत रुपमा अध्ययन गरेको थियो । सम्भाब्यता अध्ययन गरिसकेपछि बोर्डका सिईयो डा. धनन्जय रेग्मीले भारतीय पर्यटकलाई लक्षित गरेर बाँकेमा पर्यटन सम्बन्धी गतिविधी अगाडी बढाउन प्रसस्त सम्भावना रहेको बताए ।
प्रारम्भिक चरणमा अध्ययन गर्दा राप्तीनदीमा र्याफटिङसहित विभिन्न पर्यटन सम्बन्धी पुर्वाधार सञ्चालन गर्ने सम्भावना आफुले देखेको बताए । राप्तीमा गोहीको पनि वासस्थान रहेकाले सुरक्षा सम्वेदनशिलतालाई हेरेर पर्यटन सम्बन्धी पुर्वाधार सञ्चालन गर्न बोर्डले आवश्यक सहयोग गर्ने उनको भनाई छ ।
राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले रयाफ्टिङ सञ्चालनका लागि हरेक वर्ष गाउँपालिकाले बजेट छुट्याउँदै आएपनि कार्यान्वयन गर्न नसकिएको बताए । गाउँपालिकासँग अहिले ३ वटा रबरबोट रहेको जानकारी दिदै उनले कहाँबाट र कसरी सुरुवात गर्ने भन्ने विषयमा टुंगो लाग्न नसकेको सुनाए ।
अध्यक्ष थारुका अनुसार गाउँपालिकाले वडा नम्बर १ कुसुमबाट अगैयासम्म करिव १७/१८ किलोमिटर दुरीमा यसअघि र्याफटङको परिक्षण गरिसकेको छ । ‘पर्यटन क्षेत्रका सरोकारवालासँगको समन्वय र सहकार्यमा राप्ती नदीमा र्याफ्टिङ सुरुवात गर्न गाउँपालिका तयार छ,’ उनले भने ।
टोलीमा रहेका नाटाका केन्द्रिय अध्यक्ष अच्युत गुरागाई, नेपाली कांग्रेस क्षेत्र नम्बर १ बाँकेका सभापति माधवराम खत्री, पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाटा बाँके च्याप्टर अध्यक्ष श्रीराम सिग्देल र होटल ब्यवसायी संघ बाँकेका पुर्वअध्यक्ष भाष्कर काफ्लेले बाँकेमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकका लागि राप्ती नदीमा र्याफ्टिङ सञ्चालनका लागि आवश्यक पहल गर्न पर्यटन बोर्डलाई आग्रह गरे ।