पाल्पा : पाल्पामा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका क्रममा लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको हो । मृतक सबैको पहिचान खुलेको छ ।
मंगलबार राति अबेरसम्म पनि आफन्त नआएकाले मृतकको पहिचान हुनसकेको थिएन । तिनाउ गाउँपालिका–६ मस्यामस्थित इको फार्महाउस नजिकै भित्री कच्ची सडकखण्डमा डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप मंगलबार अपरान्ह तिर दुर्घटना भएको थियो ।
आफैँ अनियन्त्रित भएर जीप सडकबाट करिव तीन सय मिटर तल खसेको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार दुर्घटना परी तिनाउँ गाउँपालिका-६ मस्यामका ६० वर्षीया यनकुमारी पन्त, तिनाउ-६ का ३९ वर्षीय रामबहादुर अस्लामी, सोही स्थानका ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीया उर्मिला अस्लामी, रुपन्देही बुटवल उपमहानगरपालिका-१४ तामनगरका ७० वर्षीय चन्द्र रणपाल र सोही स्थानका ६० वर्षीय चुना रणपालको मृत्यु भएको छ ।
यसैगरी तिनाउँ-२ खुर्सानेकी २० वर्षीया गीता सुनार, रिब्दिकोट गाउँपालिका-१ ख्याहाका ६६ वर्षीया विष्णुकला कामी, सोही ठाउँकै ६५ वर्षीया दिलकुमारी सुनार, रुपन्देही देवदह नगरपालिका-५ का २९ वर्षीया दिलमाया जिसीको पनि मृत्यु भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।
दुर्घटनामा १६ जना घाइते भएका छन् । घाइतको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । जीप चालक तानसेन नगरपालिका–१० का ४५ वर्षीय दानबहादुर चिदीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।