नेपालगन्ज : राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाको पश्चिम मुल नहरमा रहेको ‘गुरुवागाउँ’ शाखा नहरलाई सोमबार परिक्षण गरिएको छ । बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ बाट सुरु भएको उक्त शाखा नहरमा पानी छाडेर औपचारिक रुपमा परिक्षण गरिएको हो ।
निर्माण कम्पनी भैरव-शुभानी जेभी काठमाडौंले २०८० फागुन १८ मा कुल ३७ करोड ८२ लाख, ८४ हजार ७ सय ३५ रुपैयाँ २४ पैसामा ठेक्का सम्झौता गरेर काम अगाडी बढाएको थियो । निर्माण कम्पनीले २०८३ फागुन १७ मा कार्य सम्पन्न गर्नुपर्ने भएपनि तोकिएको समय अगाडी नै निर्माण कार्य गरेको हो ।
सिक्टा सिंचाई आयोजनाका निर्देशक राजु आचार्यले बाँकेको बैजनाथ र खजुरा गाउँपालिका खेतीयोग्य जमिनलाई सिंचाई गर्ने लक्ष्यका साथ गुरुवा गाउँ शाखा नहर निर्माण गरिएको बताए । शाखा नहरमा पहिलो चरणको काम सम्पन्न हुने क्रममा रहेको र दोस्रो चरणमा प्रशाखा र उपशाखा नहर निर्माणको काम सुरु हुने उनले जानकारी दिए । उनले भने, ‘निर्माण कम्पनीले निर्धारित समयभन्दा डेढ वर्ष अगाडी नै काम गरेको छ, कम्पनीको मेहनत, स्रोत र साधनको प्रयोग राम्रो देखियो ।’
उक्त योजनाको हाल भौतिक प्रगति ९२ प्रतिशत र वित्तीय प्रगति ९० प्रतिशत रहेको कार्यालयले जनाएको छ । आयोजनाको पश्चिम मुल नहरमार्फत ३३ हजार ७ सय ६६ हेक्टर जमिनमा सिंचाई गर्ने लक्ष्य राखिएको छ । यस्तै ११ किलोमिटर लामो गुरुवा गाउँ शाखा नहरबाट ७ हजार ८१ हेक्टर क्षेत्रफलमा सिंचाई गर्ने लक्ष्य राखिएको कार्यालयले जनाएको छ ।
सो क्रममा बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष देवबहादुर रावत, बैजनाथ-६ का वडाअध्यक्ष भुपाल पुनमगर, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, राष्ट्रिय सिंचाई जलउपभोक्ता महासंघ बाँकेका अध्यक्ष शालिकराम डाँगी, आयोजनाका इन्जिनियर, निर्माण कम्पनीका प्रतिनिधी लगायतले बोलेका थिए । कार्यक्रम सञ्चालन आयोजनाका लेखा शाखा प्रमुख (उपसचिव) तुकमान पुनले गरेका थिए ।


